एमिनेमले भने ‘चुनावी प्रचारमा मेरो गीत प्रयोग नगर’
न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उमेदवार बन्ने प्रयासमा रहेका भारतीय मूलका विवेक रामास्वामीलाई प्रसिद्ध र्यापर एमिनेमले आफ्नो संगीत प्रयोग नगर्न आग्रह गरेका छन् ।
विवेक रामास्वामीले आफ्नो चुनावी अभियानमा एमिनेमको र्याप संगीत प्रयोग गरेका थिए । जसलाई र्यापरले औपचारिक रूपमा आपत्ति जनाएका छन् । हालै ओयावा स्टेट फेयरमा विवेक रामास्वामीको एउटा भिडियो भाइरल भयो, जसमा रामास्वामी एमिनेमको र्याप गीत गाएका थिए ।
संगीत इजाजतपत्रदाता ब्रोडकास्ट म्युजिक इन्डले एमिनेमबाट आधिकारिक उजुरी पाएको जनाएको छ । जसमा एमिनेमले रामास्वामीलाई आफ्नो संगीत प्रयोग नगर्न आग्रह गरेका छन् । रामास्वामी र्याप म्युजिकका ठूलो फ्यान हुन् र हावर्डबाट ग्रेजुएशन गर्दा विवेक रामास्वामीले र्याप पनि गर्थे र उनको स्टेजको नाम ‘दा वेक’ थियो ।
रिपब्लिकन पार्टीको तर्फबाट विवेक रामास्वामीले राष्ट्रपति पदका लागि दाबी पेश गरिरहेका छन् । राष्ट्रपति पदको पहिलो बहसपछि रामास्वामीको लोकप्रियता बढेको छ । उनी ट्रम्पपछि रिपब्लिकन पार्टीको मुख्य उम्मेदवारका रूपमा अहिलेसम्म देखिएका छन् ।
विवेक रामास्वामी पहिलो बहसमा हावी भए र त्यसपछि उनलाई प्राप्त चन्दा (डोनेसन)मा बढोत्तरी भएको छ । भारतीय मूलका विवेक रामास्वामी अर्बपति व्यापारी र ट्रम्पका ठूला प्रशंसक पनि हुन् ।
यसअघि पनि अमेरिकाका चर्चित संगीतकारहरुले चुनावी प्रचारका क्रममा राजनीतिज्ञहरुले आफ्नो संगीत प्रयोग गरेकोमा आपत्ति जनाएका थिए । फेरेल विलियम्स, रिहाना, एरोस्मिथ र एडेलको नाम प्रख्यात छ । उनीहरुले डोनाल्ड ट्रम्पले अनुमति बिना आफ्नो चुनावी अभियानमा आफ्ना गीतहरू प्रयोग गरेको गुनासो गरेका थिए । रोलिङ स्टोनले त ट्रम्पलाई आफ्नो एउटा गीत प्रयोग गरेकोमा मुद्दा चलाउने धम्की पनि दिएका थिए ।