परीको गेटअपमा ल्यानक्यास्टरमा देखा परिन गायिका मेलिना राई
ल्यानक्यास्टार, पेन्सिलभेनिया / नेपाली सङ्गीतमा दर्जनौँ चर्चित गीत पस्किएकी गायिका मेलिना राई अहिले अमेरिका भ्रमणमा छिन्।
जुलाई १५ तारिख ओहायोमा आफ्नो पहिलो प्रस्तुति दिएकी मेलिना पेन्सिलभेनियाको ल्यानक्यास्टरमा शनिवार आइपुगेकी हुन्। अमेरिका भरमा मेलिनाको १६ स्थानमा प्रस्तुति राखिएको छ।
ल्यानक्यास्टरमा लिटिज रक्सको अत्याधुनिक हलको स्टेजमा मेलिना सेतो ड्रेस पाइन्टमा पहेँलो बुट्टादार टप्समा खुलेकी थिइन्।
उनले करिब डेढ घण्टा आफ्ना नयाँ पुराना गीत गाइन्। बिच बिचमा उनी दर्शक सँग विभिन्न संवादबाट जोडिन पुग्थिन्।
गाउँदै गर्दा मेलिनाको नृत्य स्पटेपलाई पनि धेरै दर्शकले रुचाएका थिए।
ल्यानक्यास्टरका युवा व्यवसायी तथा समाजसेवी प्रेम बराल सहितको टिमले कार्यक्रमको आयोजना गरेको हो।
बराल सहितको टोलीले अघिल्लो वर्ष पनि गायक राजेश पायल राई, राजु लामा लगायतका कलाकारको सहभागितामा सांगीतिक कार्यक्रम गरेको थियो।
दुवै कार्यक्रममा दर्शकलाई प्रवेश निःशुल्क गरिएको थियो। ल्यानक्यास्टर र वरपर बस्ने नेपाली र नेपाली भाषी भुटानीलाई मनोरञ्जन दिन र नेपाली गीत सङ्गीतको संरक्षणका लागि आफूहरूले कार्यक्रम गरेकाले टिकट शुल्क नतोकिएको बरालको भनाई छ।
उनले अब दसैँ र तिहारको अवसर पारेर अर्को बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको बताए।
मेलिनाको प्रस्तुति अगाडि मेरो भ्याइस् युनिभर्सलमा शीर्ष १३ सम्म पुगेका मन मगरले पनि प्रस्तुति दिएका थिए।
यसै गरी सह गुरुङ, बाला गुरुङ लगायतले प्रत्यक्ष लोक धुन पस्किएका थिए। सह बाँसुरी र बाला सारङ्गी वादनमा रहेका थिए।
ह्यारिसबर्ग स्थित नित्य तारा डान्स स्कुलका विद्यार्थीहरूले पनि समूह नृत्य प्रस्तुत गरेका थिए। ल्यानक्यास्टरका बालबालिकाहरुको तिज नृत्य पनि कार्यक्रमको आकर्षण रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि खेम सुवेदीले एकल तथा अतिथि नेपाली एसोसिएसन अफ पेन्सिलभेनियाकी अध्यक्ष अर्चना शर्मा सँग मिलेर पनि गाएका थिए। यस्तै अन्सु उप्रेतीले पनि गीत गाएकी थिइन्। नव गायीका उप्रेतीले चोली राम्रो पाल्पाली ढाकाको… बोलको गीत गाएकी थिइन्।
उप्रेतीले नेत्र रसाईली सँग मिलेर झारेरर तारा … बोलको आफ्नै गीत बजारमा ल्याउन लागेको जानकारी दिइन्।
यस अगाडि कार्यक्रमको उद्घाटन गर्ने क्रममा स्वागत मन्तव्य दिँदै सुवेदी लगातार सांगितिक कार्यक्रम गर्ने प्रेम बराल सहित उनको टिमको कार्यको प्रसंशा गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रमको उद्घोषण कुल गिरीले गरेका थिए भने डिल्ली सुवेदीले अतिथिहरूको स्वागत गरेका थिए।