एनआरएनए अमेरिकाको दोस्रो बैठक: अध्यक्ष बन्जाडेलाई फेरि झड्का, महत्त्वपूर्ण दुई प्रस्ताव भएन पारित
पेन्सिलभेनिया,अमेरिका/ परिवर्तनको नारा लिएर चुनाव जितेका गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले कार्यसमितिको दोस्रो बैठकमा ठुलो झड्का बेहोरेका छन्।
अध्यक्ष बन्जाडेले आइतबारको बैठकमा प्रस्तुत गरेको दुई महत्त्वपूर्ण प्रस्तावलाई पारित गराउन असफल भएका छन्।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्षले प्रस्ताव गरेको संरक्षक परिषद् र सल्लाहकारको नाम कार्यसमितिका अधिकांश सदस्यले अस्वीकार गरेका हुन्।
ती पदाधिकारीका अनुसार निर्वाचन र साधारण सभाका आम्दानी खर्च विवरण, आइसीसीलाई सदस्यता शुल्क भुक्तानी, च्याप्टरमा रिक्त पद र शुल्कका एजेन्डा सर्वसम्मतिले पारित भएको थियो।
त्यस पछि उपाध्यक्षहरूलाई विभागीय जिम्मेवारी दिने, आइसीसी डेलिगेड सम्वन्धी निर्णय पनि सर्वसम्वतले पारित गरेको थियो। तर जब संरक्षक र सल्लाहकारको नाम अध्यक्ष आफैले ठाडो प्रस्ताव ल्याए त्यस पछि विरोध सुरु भएको थियो।
एनआरएनए अमेरिकाको अहिलेको टिममा दुई समूहबाट विजयी भएका पदाधिकारी छन्। संरक्षक र सल्लाहकारका नाममा डा. बन्जाडे समूहबाटै चुनाव जितेका पदाधिकारीहरूले पनि असहमति राखेका थिए।
बैठकमा उपस्थित ४५ जना मध्ये ३७ जनाले बोल्दा पाँच जनाले मात्र बन्जाडेको ठाडो प्रस्तावमा सहमति जनाएका थिए। कतिपयले नोटअफ डिसेन्ट नै लेख्ने धम्की दिएका थिए। केही तटस्थ रहेका थिए।
बन्जाडे समूहबाटै चुनाव जितेका उपाध्यक्ष प्रेम तामाङ, सचिव दीपक सापकोटा र महिला संयोजक सुनिता खत्रीले अध्यक्षको कदममा असन्तुष्टि जनाएका थिए।
उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, बोर्ड सदस्य निमा शेर्पा, च्याप्टर अध्यक्षमा वासिङ्टनका वासुदेव प्रसाईँले मात्र बन्जाडेको पक्षमा बोलेका थिए।
बैठकमा सहभागी पदाधिकारीका अनुसार प्रकाश पौडेल, सुनिता सापकोटाले तटस्थ रहेर बोलेका थिए।
बैठकमा आलोचनाको स्वर बढ्दै गए पछि वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले प्रस्तावित नामको बारेमा विरोध नभए पनि पद्धति बाहिर गएको भए पुनर्विचार गर्नु पर्नेमा राय राखेका थिए।
महासचिव रामहरि अधिकारीले अध्यक्षको प्रस्ताव विधान अनुसार नभएको भन्दै आफ्नो मत राखेका थिए। अधिकारी फरक टिमबाट चुनाव जितेका हुन्।
समाज टाइम्स सँगको कुराकानीमा महासचिव अधिकारीले विवाद भन्दा पनि प्रक्रियाको बारेमा आफू लगायत साथीहरूले धारणा राखेको बताए। वरिष्ठ उपाध्यक्ष उप्रेती भने सम्पर्कमा आउन चाहेनन्।
‘सल्लाहकार र संरक्षकमा अध्यक्षले प्रस्ताव ल्याउनु भएको थियो,यसमा विवाद भन्दा पनि उहाँको प्रस्ताव विधान अनुसार भएन भन्ने राय साथीहरूको रह्यो।’ समाज टाइम्स सँग अधिकारीले भने,’विधानमा नियुक्ति गरिने व्यक्तिको बायोडाटा सङ्कलन गरेर बैठक हुनु भन्दा कम्तीमा ४८ घण्टा अगाडी बोर्डलाई जानकारी दिनु पर्ने भन्ने छ त्यो प्रक्रिया नपुगेको र सचिवालयलाई पनि नाम समयमा नै नआएकाले मैले विधानमा के छ भनेर सम्झाइको हुँ।’
साथीहरूबाट पनि नामहरूमा अध्ययन गर्ने समय मागे पछि सल्लाहकार र संरक्षकको बारेमा टुङ्गो लाग्न नसकेको अधिकारीको भनाई छ।
यस्तै सचिव दीपक सापकोटाले पनि प्रक्रियाको बारे आफूले असहमति राखेको बताए। “बैठक राम्रै चलेको थियो, अध्यक्षले संरक्षक र सल्लाहकारको नाम पढे पछि साथीहरूको विरोध सुरु भयो।’ सापकोटाले भने।
“हामीले सिकागोमा भएको पहिलो बैठकमा पनि भनेका थियौ, बाहिर निर्णय गरेर नाम पढ्न मात्र कार्यसमितिमा आउनु हुँदैन भनेर तर उहाँले दोस्रो बैठकमा पनि त्यो क्रम दोहोर्याउनु भयो।’
तर अध्यक्ष बन्जाडेले आफूले प्रस्तावको रूपमा नाम नलगेको दाबी गरे। उनले आफू विधान अनुसार नै चल्ने बताए।
“मैले पारित गर्नका लागि प्रस्ताव गरेको होइन, छलफलमा लगेको हो, समय अभावका कारण बायोडाटा पठाउन नभ्याएको हो।’बन्जाडेले भने। ‘यसलाई पारित नभएको भन्न मिल्दैन।’
उनले विधानमा व्यवस्था अनुसार निर्णय हुने पनि बनाए। ‘अर्को बैठकमा निर्णय कसरी गर्ने भनेर हामी सल्लाह गर्छौ।’
१२ औ साधारण सभा स्थल सिकागोमा बसेको कार्यसमितिको पहिलो बैठकमा पनि विधान विपरीत प्रस्ताव ल्याएको भन्दै आलोचना भएको जनाइएको थियो।
अध्यक्ष बन्जाडेले एनआरएनए अमेरिकाका निवर्तमान उपाध्यक्ष सुमन थापा र दीक्षा बस्नेतलाई संरक्षक परिषद्को सदस्य मनोनयन गर्ने प्रस्ताव गरेका थिए।
बैठकमा सहभागीले पूर्व जानकारी विना प्रस्ताव ल्याएको भनेर आलोचना गरेका थिए।
सो समय अध्यक्ष बन्जाडेले एक पटकका लागि भन्दै आफ्नो प्रस्ताव पारित गरिदिन विशेष अनुरोध गरेका थिए। अर्को पटकबाट विधान अनुसार प्रक्रिया पुर्याएर प्रस्ताव ल्याउने बाचा गरेको जनाइएको थियो।
बैठक पछि समाज टाइम्स सँगको कुराकानीमा पनि अध्यक्ष बन्जाडे र महासचिव अधिकारीले त्यसको पुष्टि गरेका थिए।
तर अध्यक्ष बन्जाडेले पुरानै प्रवृत्ति दोहोर्याउने सङ्केत गरेको पदाधिकारीले नै आशङ्का गरेका छन्।
अध्यक्ष एक्लै हिँड्न खोजे झन् ठुलो धक्का लाग्ने पनि सचिव सापकोटाले चेतावनी दिए।
‘टिमका साथीहरू सँग पनि सरसल्लाह छैन एक्लै चल्न खोजे पछि धक्का लाग्छ।’
को कस्को नाम प्रस्ताव गरिएको थियो ?
बैठकमा सहभागीका अनुसार बन्जाडेले संरक्षक परिषद्को अध्यक्षमा एनआरएनए अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमिल्सिनाको नाम प्रस्ताव गरेका थिए।
यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष शिव राई, पूर्व महासचिव पशुपति पाण्डे, दुई वर्ष अगाडीको निर्वाचनमा अध्यक्षमा पराजित तिलक केसी र उमा थापा कार्कीको नाम संरक्षक परिषद्को सदस्यमा सिफारिस गरेका थिए।
यस्तै सल्लाहकारहरुमा डा तारा सिग्देल,बाला घिमिरे,नेत्रबन्धु पोखरेल,प्रेमकुमार चौलागाई,वासुदेव खनाल
प्रितेश कार्की र केशव बरालको नाम सिफारिस गरेका थिए।
केशव लोहनी,वासुदेव अधिकारी,दधी ढुङ्गाना,रेणु सुवेदी,अम्बिका लोहनी,साबु गडाल कार्की,सानु बर्मा अधिकारी,चित्रा केसी,डोल्मा लामा,डा सञ्जु महतो र उमा शाह पनि सल्लाहकारको लिस्टमा थिए।
विद्या मानन्धर रञ्जित, डा सरोज पुरी,राजु लामा,सुन्दर गुरुङ,कमल सापकोटा, वेद बस्नेत, समर बुढाथोकी,सन्तोष विष्ट र विजय कुमार थालुङ पनि डा बन्जाडेको सल्लाहकार परिषद्का लागि सिफारिसमा परेका थिए।
र यो पनि…
डा. राजन पन्त एनआरएनए अमेरिकाको प्रवक्ता नियुक्त, सोफिन थापा फेरि चिप्लिए
एनआरएनए अमेरिका: प्रवक्ताको विषयमा अध्यक्ष डा. बन्जाडे दबाबमा, पहिलो बैठकमै भयो आलोचना