अमेरिका क्षेत्रको डी.आर.सीमा गोविन्द सुवेदीको उमेदवारी
नर्थ क्यारोलिना/ गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सदस्य गोविन्द सुवेदीले आसन्न निर्वाचनमा अमेरिका क्षेत्रको उप संयोजक (डीआरसी) मा उमेदवारी दिने भएका छन्।
एनआरएन आइसीसीको निर्वाचन आगामी अक्टोवरमा हुदै छ। सन् २००८ देखी अमेरिकामा बस्दै आएका सुवेदी विभिन्न रूपमा सामाजिक कार्यमा संलग्न हुँदै आएका छन् । एनआरएन अभियानमा उनी २०१५ देखि अनवरत रूपमा सक्रिय छन् ।
हाल नर्थ क्यारोलाइना राज्यमा व्यवासय सञ्चालन गर्दै आएका सुवेदीको नेपालको स्थायी घर तनहूँ जिल्लाको भिमाद नगरपालिका हो । लामो समय भर्जिनिया राज्यमा बसोबास गरेका सुवेदी २०१९ देखि भने नर्थ क्यारोलाइनामा व्यावसाय गर्दै आएका छन् ।
उनी एनआरएनए अमेरिका भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष समेत हुन्।
वर्ष २०१५—२०१७ को कार्यकालमा उनी भर्जिनिया च्याप्टरको उपाध्यक्ष निर्वाचित भएका थिए । त्यस पछि उनले २०१७—२०१९ को कार्यकालमा भर्जिनिया च्याप्टर अध्यक्षमा निर्वाचित भए । त्यसै गरि २०१९—२०२१ मा उनले एन.आर.एन. एनसीसी अमेरीकाको सल्लाहाकार को रूपमा सक्रिय थिए । वर्तमान २०२१—२०२३ को कार्यकालमा उनी एन.आर.एन. आइसीसीका निर्वाचित सदस्य हुन् ।
लामो समय देखि एन.आर.एन. अभियानमा संलग्न हुँदै आएकोले यस पटक आइसीसीको निर्वाचनमा अमेरिका क्षेत्रको डी.आर.सी. रहेर कार्य सम्पादन गर्ने इच्छा रहेको सुवेदीले बताएका छन् । उनी भन्छन् “मैले डी.आर.सी. को उम्मेदवार हुने इच्छा राखेको छु । मलाई लाग्छ म यो पदको लागी योग्य उम्मेदवार पनि हुँ । मैले च्याप्टर, एनसीसी हुँदै आइसिसी सम्म कार्य सम्पादन गरी सकेको छु । यसर्थ पनि डी.आर.सी. पद मेरा लागी निर्विकल्प हो जस्तो लाग्दछ ।”
सुवेदी निकै सरल र सहयोगी व्यक्तिका रुपमा चिनिन्छन्। उनले सामाजिक कार्यमा खटिने व्यक्तित्वको छवि बनाएका छन्।
“मेरो उमेदवारीमा सवै साथीहरुको समर्थन रहने छ ।” सुवेदी भन्छन्, “सवै साथीभाईको सहयोग र साथले आगामी आई.सी.सी. निवार्चनमा डी.आर.सी. पदमा निर्वाचित हुने विश्वास्त छु।”