एनआरएनए नागरिकता लिन सम्बन्धित जिल्ला प्रशासन जानुपर्ने !
काठमाडौं । नागरिकता ऐन अनुसार गैर आवासीय नेपालीहरुलाई दिइने एनआरएनए नागरिकताको कार्यविधि अन्तिम चरणमा पुगेको जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक अदालतमा परिक्षण हुन जाँदा रोकिएपछि कार्यविधि तयार हुन पाएको थिएन् ।
तर, सर्वोच्च अदालतले ऐन कार्यान्वयनका लागि बाटो खुला गरेपछि नागरिकताको तालुकदार निकाय गृहमन्त्रालयले कार्यविधिको प्रक्रिया अघि बढाएको थियो । केही विषयहरु अस्पष्ट भएकाले कार्यविधिले त्यसलाई थप प्रष्ट पारेको गृहमन्त्रालयका अधिकारीहरुले बताएका छन् । गृहमन्त्रालयबाट तयार भएको कार्यविधि अहिले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ ।
त्यहाँ कार्यविधिका विषयमा छलफल भइरहेको र अबको एक साता भित्र अन्तिम रुपम दिइने जनाइएको छ । मन्त्रालयका उपसचिव कृष्ण कटुवालले कार्यविधिको काम गृहमन्त्रालयबाट पूरा भइसकेको जानकारी दिँदै ३ दिन अघि कानुन मन्त्रालयमा पठाएको बताए । कानुन मन्त्रालयबाट फेरि गृहमन्त्रालयमा आएपछि मन्त्रिपरिषद्मा पेश हुने छ । मन्त्रिपरिषदले पाश गरेमा नियमावली कार्यान्वयनमा आउने छ ।
सबै प्रक्रियाहरु अहिले अगाडि बढी सकेकाले एक साताभित्र नियमावली पारित भएर लागू गर्ने तयारी पनि गरिएको छ ।
नियमावलीमा गैर आवासीय नेपाली नागरिकता लिन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ भने प्रमाणपत्र लिँदा स्वयं व्यक्ति उपस्थित हुनु पर्ने छ । नागरिकता लिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै पुग्नु पर्ने व्यवस्था गरिएको छ । (जस्तो, यदि कुनै एनआएरएनए दार्चुला जिल्लाका व्यक्ति छन्, उनले नागरिकता लिनका लागि दार्चुला नै जानु पर्ने छ । काठमाडौं वा अन्य कुनै पायक पर्ने ठाउँबाट पाइने छैन ।)
केहीले एनआरएनए नागरिकता राजदूतावासले दिनुपर्ने बताउँदै आएका छन् । दूतावास परराष्ट्र अन्तर्गत पर्ने र नागरिकता गृह अन्तर्गत पर्ने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता वितरण हुने सम्भावना छ ।