अमेरिकामा एसियन रेफ्युजी युनाइटेडले गर्यो पहिलो युवा सम्मेलन: सुनाइयो पहिचानको कथा
पेन्सिलभेनिया,अमेरिका/ अगस्त पाँच तारिख शनिवारको बिहान। पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग सहर भन्दा अलिक पर, पिटर माउन्टेन नाधेर जानु पर्ने । कता कता नेपालमा काठमाडौँ सहर वाट ककनी तीर लागे जस्तो।
अझ भनौँ न ओशो तपोवन जस्तै देखिने ह्यालिफ्याक्सको ‘क्याम्प हेब्रोन’ पुग्दा नपुग्दै नेपाली र नेपाली भाषी भुटानी एक सयको हाराहरिमा तन्नेरी युवा युवतीहरूको जमघट भइसकेको थियो।
एसियन रेफ्युजी युनाइटेड (एआरयु) भन्ने संस्थाले पहिलो पटक आयोजना गरेको युवा शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ जमघट भएको थियो।
अमेरिकामा रहेका आप्रवासी र शरणार्थीहरूका लागि काम गर्दै आएको संस्था हो एआरयु। क्यालिफोर्नियामा मुख्यालय रहेको एआरयुले ह्यारिसबर्गमा नेपाली भाषी भुटानीलाई बढी लक्षित गरेर कार्यक्रम गर्दै आएको छ।
मुख्यतया युवा वर्गमा नेतृत्व विकासलाई उसले आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ। यस पटक अमेरिकाका विभिन्न राज्यबाट आएका युवा वर्गलाई आ आफ्नो कथा भन्न लगाउने, समस्या र त्यसका समाधान पहिल्याउने उद्देश्य सहित युवा सम्मेलन राखिएको थियो।
सहभागीको रजिस्ट्रेसन सकिदा नसकिँदै एआरयुकी आर्ट एण्ड हिलिङ निर्देशक डोही लीले शारीरिक व्यायाम (स्टेचिङ्ग) गराउन सुरु गरिन्।
सम्मेलनमा सहभागीलाई सोझै भाषण मात्र सुनाउनु भन्दा पनि उनीहरूलाई ‘मुड’ ल्याउन लीले जोड दिएको देखिन्थ्यो।
व्यायाम कै बिचमा उनी गीतको तालमा शरीरको चाल बढाउन आग्रह गर्थिन। अनि बेला बेलामा शरीरका कुन भागमा हल्का मसाज गर्दा कुन रोगलाई फाइदा हुन्छ भन्दै सिकाउँथिन।
लीले सहभागीको परिचय पनि फरक तर रोचक शैलीमा गराइन। व्यायाम पछि सहभागीहरू बाजाको तालमा नाच्दै मुख्य कार्यक्रम हलमा प्रवेश गर्दा रोमाञ्चित देखिन्थे।
पहिचानको कथा
एआरयु-युथ सेन्टरका सह कार्यकारी निर्देशक रबिन गुरुङले औपचारिक कार्यक्रमको सुरु गरे पछि सहभागीहरूले आफ्नो कथा छोटकरीमा सुनाउन थाले ।
न्यु योर्कबाट सम्मेलनमा सहभागी हुन आएकी ज्योति गुरुङ सहितका व्यक्तिले कार्यक्रमको बारेमा प्रकाश पारे। उनीहरूले पहिचानको कथा सुनाए।
त्यस पछि अतिथिको पालो । डाउफिन काउन्टी बोर्ड अफ कमिस्नरका उपाध्यक्ष चाड सेलर पोडियममा आए। उनले आफ्ना पुर्खाहरू जर्मनीबाट कसरी अमेरिका आइपुगे त्यसको कथा सुनाए।
उपाध्यक्ष चाड सँग सँगै पोडियम उक्लिएका डाउफिन काउन्टी बोर्ड अफ कमिस्नरका अध्यक्ष माइक प्राइजले आफ्नो क्षेत्रमा रहेका नेपाली र नेपाल भाषीको प्रशंसा गर्दै आफूहरू सहयोगका लागि तयार रहेको बताए।
नभन्दै उनले २४ हजार अमेरिकी डलरको चेक एआरयुका सह कार्यकारी निर्देशक रबिनको हातमा थपाए। सो रकम यूथ सम्मेलन, सक्सेस फर सकर र टेबुल टेनिस परियोजनाका लागि खर्च गर्न दिइएको उनले बताए।
मनोरञ्जन सँग सँगै ज्ञानगुनका कुरा
सम्मेलनको पहिलो दिन उद्घाटन सत्रमा आएका अतिथिहरूलाई बिदाइ गरे पछि सहभागीहरू तीन समूहमा विभाजन भएर आपसमा कथा भन्न सुरु गरे। जीवनमा भोगेका कथा। जसलाई उनीहरूले कहिल्यै भुल्न सक्दैनन्। ती घटना उनीहरूले आपसमा साझेदारी गरे।
अलिकति पाकाहरूले आफूहरूले किन भुटान छोड्नु पर्यो भनेर सुनाए। केहीका कथा दर्दनाक थिए। रातारात आफ्नो थातथलो छोड्दाको कथा। ‘माटो’ छोड्दाका कथा। अनि दुई दशक सम्म आफ्नै पूर्खाको देशमा ‘शरणार्थी’ हुँदाको कथा।
कथा त्यति मात्र थिएनन्। अमेरिका आएपछि पनि पहिचान खोज्दाका कथा पनि साझा गरिएको थियो। तन्नेरीहरू बिचमा असफलताका कथा मात्र होइन अबको बाटो के भन्नेमा पनि छलफल भयो।
सबै भन्दा मुख्य कुरा सहभागीलाई क्षणभर पनि पट्यारलाग्दो नहोस् भन्नेमा मेन्टोरहरु सचेत देखिन्थे।
बिच बिचमा मनोरञ्जनका कुरा पनि हुन्थे। कोही टेबुल टेनिस खेल्न लाग्थे। कोही गट्टा खेलेर बालपनमा फर्कन खोज्थे।
सम्मेलनमा स्वास्थ्यको विषय पनि प्रमुख थियो। के खाने के नखाने उनीहरूले एक आपसमा छलफल गरे। स्वास्थ्य प्रति सचेत रहन सुझाव दिए। हलमा नै उनीहरूले योगका केही आसनको अभ्यास गरे। सिंहासनको अभ्यासमा हाँसोको फोहोराले हल नै रोमाञ्चित भएको थियो।
यसै गरी कराते खेलाडीको काता प्रदर्शनीले पनि सम्मेलनमा सहभागीलाई विविधता थपेको थियो।
पेन स्टेट क्याम्पस ह्यारिसबर्ग क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संस्था नेपाल एसोसिएसन क्लबले पनि सम्मेलन स्थलमा स्टल राखेर नव आगन्तुक विद्यार्थीहरूलाई कुनै पनि विषयमा सहयोग गर्न तयार रहेको जनाउ दिएको थियो।
क्यानभ्यासद्वारा अभिव्यक्ति
आयोजकले सहभागीलाई आफूलाई मनमा लागेको कुरा लेख्न आग्रह गर्दै सानो कागजको टुक्रा दिएका थिए। केहीले छोटो कथा लेखे कतिले कविता लेखे। केहीले चित्र बनाए। सबैको कृति जोड्दा गजज्बको क्यानभास बन्यो, जब केही चित्रकारले त्यसमा रङ्ग भरे।
भुटान देखि नेपाल हुँदै अमेरिका सम्मको यात्रा क्यानभासमा कैद भयो। जुन दस्ताबेज अब एआरयुको कार्यालयको भित्ताको आकर्षण हुने जनाइएको छ।
पाका सँग ज्ञानगुनका कुरा
सम्मेलनमा सहभागीलाई हरेक क्षेत्रका अनुभवी सँग साक्षात्कार गर्ने व्यवस्था समेत गरिएको थियो। शिक्षा, स्वास्थ्य, अन्य व्यवसायमा सफल व्यक्तित्वले अमेरिका आए पछि त्यो ठाउँमा पुग्नका लागि गरेका सङ्घर्षहरू सुनाएका मात्र होइनन् तन्नेरीहरूलाई सुझाव पनि दिएका थिए।
नेपाली भाषी डाक्टर, इन्जिनियर सहित विभिन्न क्षेत्रका विज्ञहरू सँग सहभागीले करिअरका बारेमा जिज्ञासा राखेका थिए।
अमेरिकी सेना र प्रहरीमा कसरी प्रवेश गर्ने, के कस्ता फाइदा नेपाली समुदायले लिन सक्छन् भन्ने जानकारी पनि सम्मेलनमा गराइएको थियो।
विज्ञसँगको अन्तर्क्रिया पछि पालो आयो खुल्ला माइकको। केहीले आफ्नै कविता भने कतिले अरूको रचना सुनाए। केहीले गीत गाए र नाचे पनि।
त्यही क्रममा जोडिए पेन्सिलभेनिया प्रतिनिधि सभा सदस्य डेभिड मेडसेन र पेन्सिलभेनिया गभर्नरका लागि एसियाली अमेरिकी र प्रशान्त टापुवासी मामिला सल्लाहकार आयोगका कार्यकारी निर्देशक राजिन कारु ।
डेनिस बाबु र अश्वेत आमाका छोरा सांसद डेभिडले ‘पहिचान’ मुद्दामा आफ्नो भोगाइ साझा गरे। उनले केही सहभागीका जिज्ञासाको जवाफ दिए।
कार्यकारी निर्देशक कारुले नेपाली भाषीलाई गभर्नरको प्रशासनमा केही परे सम्पर्क गर्न आह्वान गरे। उनले नेपाली भाषीलाई पनि सरकारी जागिरमा लाग्न आग्रह समेत गरे। ‘म तपाईहरु सबैलाई प्रोत्साहन गर्न चाहान्छु, कृपया हाम्रो सम्पर्कमा आउनु होला म सहयोग गर्न तयार छु।’ उनले भने।
सम्मेलनमा फरक क्षमता भएकाहरूलाई पनि उनीहरूका कथा भन्न दिइएको थियो। उनीहरूले नेपाली र अङ्ग्रेजी साङ्केतिक भाषा सबैले नबुझ्दा आफूहरूले बेहोर्नु परेको सास्तीका बारेमा सुनाए। समाजका केही व्यक्तिले अझै पनि हेप्ने गरेकोमा पनि गुनासो गरे।
समोसा र बिङ्गो
‘ओपन माइक’ सत्र पछि जब अतिथिहरूलाई बिदाइ गरियो त्यस पछि सम्मेलनमा सहभागी बिचमा राफल चिट्ठा खोलियो। अनि हातमा समोसाको प्लेट पर्यो, त्यस पछि विङ्गो खेलेर दिनको अन्त गरे।
नेपाली एशोसिएन क्लबले राफल चिट्ठा र बिङ्गो खेलाएको थियो।
सोचे भन्दा राम्रो भयो
सम्मेलन आयोजक एआरयु-युथ सेन्टरका सह कार्यकारी निर्देशक रबिन गुरुङले कार्यक्रम सोचे भन्दा राम्रो भएको प्रतिक्रिया दिए।
‘यूथ समिट पहिलो पटक गरेको । नयाँ पुस्ताका लागि नेतृत्व विकासका कार्यक्रम हामीले २०१८ देखि गर्दै आएका हौ।’ समाज टाइम्स सँग गुरुङले भने, ‘त्यो हरेक वर्ष राम्रो हुँदै आएको हो। तर सम्मेलन चैँ पहिलो पटक आयोजना गरिएकोले समाजले कसरी हेर्छ भन्ने थियो तर जसरी सहभागिता रह्यो जे जसरी भयो राम्रै भयो।’उनले भने,’ आइतबार हामीले सहभागी सँग बसेर के के सिक्यौ भन्ने छलफल भएको थियो। अधिकांशले आफूले नयाँ ज्ञान पाएको बताए। त्यसले हामी खुसी छौ।’
गुरुङले फरक क्षमता भएकाहरूको समस्याको बारेमा धेरै जना अनविज्ञ रहेको र अबका दिनमा त्यो समुदायलाई कसरी सहयोग गर्ने भन्ने कुरा पनि सहभागि सहमत भएको बताए।
‘केहीलाई यूथ समिट के हो भन्ने पनि लागेर सहभागी हुने नहुने भन्ने भयो तर जो जो सहभागी भए उनीहरू अर्को वर्ष पनि आउने भनेर गएका छन्। सहभागीहरूको राम्रो फिडब्याक रह्यो हामी खुसी छौ।’ उनले भने।