एनआरएन अमेरिकाको चुनावमा मतदान गर्ने मेरा केही आधारहरू
लेखनाथ गौतम
टेक्सस,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको चुनाव आउन केही दिन मात्र बाँकी छ। भवितव्य भएन भने चुनाव हुनेछ र हामीले अर्को हप्तासम्म नयाँ कार्यसमिति पनि पाइसक्नेछौँ। च्याप्टरहरूमा उम्मेदवारी दिने खासै उत्साह नदेखिए पनि केन्द्रतिर उम्मेदवार प्रशस्तै छन्। सबैले आफ्नो आफ्नो तरिकाले चुनावमा आफूलाई भोट हाल्न अनुरोध गर्दै सामाजिक सञ्जाल, अनलाइन पत्रिकाका पेजहरू भरेका छन्। कतिपयले फोन नै गरेर भोट मागिरहेका छन्।
केही अपवादलाई छोड्ने हो भने एनआरएनए एनसीसी अमेरिकाको चुनावमा कसैलाई चासो देखिन्न। उम्मेदवार, उनीहरूलाई जिताएर फाइदा लिन खोजेका व्यक्तिहरू, उनीहरूका कट्टर समर्थक र एनआरएनमा भोलि पाइला टेक्ने जमर्को गर्दै गरेका बाहेक अरू आम सर्वसाधारणले कुनै महत्त्व दिएको देखिँदैन। उनीहरू आफ्नो दैनिकीमा नै व्यस्त छन्। सन् २०१३ देखि बाहिर निस्केर धेरै चर्चामा रहेको एनआरएनए प्रति जनताको यति कम चासो वास्तवमा यसका अभियन्ता भनाउन चाहनेहरूका लागि असहज अवस्था हो।
तर पनि एनआरएनए प्रवासी नेपालीहरूको एउटा साझा र अत्यावश्यक संस्था बनिसकेको छ। यसमा सक्रिय अभियन्ताहरूको ढङ्ग नपुगेर संस्थामा जनचासो कम भए पनि यसको आवश्यकता र अपरिहार्यतामा भने कुनै कमी आएको छैन।
विदेशमा नेपालीहरूको सङ्ख्या बढिरहेको अहिलेको अवस्थामा झन् बलियो र सक्रिय एनआरएनए आवश्यक छ जसले हाम्रा मुद्दा र समस्याहरूलाई एकीकृत रूपमा नेपाल सरकार र अन्य सरोकारवालाहरुसँग पुराओस्। स्थानीय रूपमा सामाजिक काम गर्ने अन्य संस्थाहरू भए पनि नीतिगत तहमा नेपालसँग निरन्तर जोडिने अभियान भने एनआरएनएले मात्र गर्न सक्छ। प्रवासी नेपालीहरूका मुद्धाहरु राज्य स्तरमा पुराउन एनआरएनए नै आवश्यक पर्छ।
त्यसैले जति जना अहिले एनआरएन अमेरिकाको सदस्य छौँ, सबैको काँधमा एउटा जिम्मेवारी आएको छ। निर्वाचनमा गतिला मान्छे चुनेर पठाउने। केही पदीय वा प्रणालीगत धाँधली गरिने सम्भावना रहे पनि मतदाता साँच्चिकै सचेत हुने हो भने सही मान्छेलाई सही ठाउँमा पुराउन भने पक्कै सकिन्छ। उपलब्ध उम्मेदवारहरू मध्ये तुलनात्मक रूपमा केही गर्न सक्ने भिजन, क्षमता र नेटवर्क भएको व्यक्ति हामीले चुन्यो भने पक्कै एनआरएन बिस्तारै सुध्रिँदै जानेछ र एक दिन हामीले खोजे जस्तो एनआरएनए अमेरिका बन्नेछ।
भोट हाल्दै गर्दा तपाईँहरूले कुन आधार तय गर्नु भएको छ मलाई थाहा छैन तर मैले भने उम्मेदवारहरूका यी कुराहरूलाई आधार मानेर निर्वाचनमा मतदान गर्ने निधो गरेको छु। तपाईंहरुलाई पनि यी आधारहरू सही लाग्छ भने त्यसरी नै मतदान गर्नु होला।
उम्मेदवारहरूको पृष्ठभूमि : यसमा उम्मेदवारहरूको आर्थिक, सामाजिक, शैक्षिक, ब्यबसायिक र व्यक्तिगत पृष्ठभूमि हेर्नुपर्ने हुन्छ। शैक्षिक योग्यता कति छ, शैक्षिक योग्यता र त्यसको प्रयोग कत्तिको फलदायी रूपमा गरेको छ, आर्थिक उन्नति कस्ता क्रियाकलापबाट प्राप्त गरेको छ, सामाजिक रूपमा कत्तिको योगदान दिएको छ, ब्यबसायिक सफलतामा कत्तिको ब्यबसायिक नैतिकतालाई ध्यान दिएको छ, व्यक्तिगत रूपमा कत्तिको इमानदार छ र परिवारको सहयोग छ भन्ने कुराहरूलाई आधार मान्नु पर्छ। कमसेकम नेतृत्वदायी भूमिकामा आउनेहरूको बारेमा यति जान्न कोसिस गर्नु पर्छ र यी आधारमा जसले बढी अङ्क ल्याउँछ, उसैलाई भोट हाल्नु पर्छ।
दृष्टि, अभियान र योजना ( भिजन, मिसन र प्लान) : तपाईँले नेतृत्वमा पुराउन खोजेको मान्छेमा यी कुराहरू के कस्ता छन् भनेर थाहा पाउन पर्छ। हामीले मतदान गर्न खोजेको मान्छेले यति ठुलो देशको यति धेरै नेपालीहरूको नेतृत्व गर्नु पर्छ।
उसलाई हामीले घरको काम लगाउने त होइन, उसले त नीतिगत तहमा बसेर समग्र समाज र समुदायको लागि योजना,नीति र रणनीति बनाउने हो। त्यसैले भोट गर्दा उसले एनआरएनमा के कति योगदान गरेको छ भन्ने कुरा सँगै नयाँ योजना र भिजनको के पोको ल्याएको छ, खोलेर हेर्नु पर्छ। फलानाले भन्यो त्यही भएर ढिस्कानालाई भोट हालेँ भन्ने हो भने अर्को पटक सदस्यता नवीकरण नगरे पनि हुन्छ। यस्ता सदस्यले संस्थाको हित गर्न सक्दैनन्।
टिम, कार्यदक्षता र इमानदारिता : प्रवासमा सबै आफ्नो काममा व्यस्त हुनुपर्छ, बचेको समय सामाजिक क्षेत्रमा लगाउने हो। यस्तोमा एक्लै कसैले केही गर्न सक्दैन जसको लागि गतिलो टिम आवश्यक हुन्छ। समाजका विभिन्न स्वार्थहरूलाई समेट्ने नाममा नन्दी भृङ्गीहरूको जमात खडा गरेर बनेका कुनै समूहको साथ लिएर आउने नेतृत्वले माखो मार्न सक्दैन। स्वार्थ समूहहरूको क्रिडास्थल बन्छ संस्था। एउटा सानो निर्णय गर्न पनि संस्थामा ठुलो महाभारत चल्छ।
नेतृत्व गर्न आएको हाम्रो उम्मेदवारको कार्यदक्षता नजाँची भोट हाल्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो। टिम छ, इमानदार पनि छ तर काम कसरी फत्ते गर्ने, संस्था अघि बढाउन आवश्यक निर्णयहरू कसरी गर्ने भन्ने क्षमता छैन भने उसले गफै मात्र गर्ने हो, काम गर्न सक्दैन। यसले संस्था अघि बढ्न सक्दैन। यस्तो मान्छेलाई संस्थाका सात सय ३० सुवर्ण दिनहरू सुम्पिन सकिन्न।
त्यस्तै इमानदारीता अर्को ठुलो पक्ष हो। संस्था प्रति, समाज प्रति उ कत्तिको इमानदार छ भनेर हेर्नु अत्यावस्यक काम हो। संस्थामा आउनुको उद्देस्य वा नेतृत्वमा आउन चाहनुको उद्देश्य व्यक्तिगत पनि हुन सक्छ, त्यो विचार पुराउन पर्छ। अब पैसो नि कमाइयो नाम पनि कमाउन परो भनेर आएको हो कि उ इमानदारिता पूर्वक समाजसेवाको माध्यमबाट संस्थामा काम गर्न आएको हो भन्ने कुरा नियालेर हेर्नु पर्छ। संस्थामा पैसा त चाहिन्छ तर इमानदार पैसावाला चाहिन्छ, स्वार्थी होइन।
अन्त्यमा :
च्याप्टरमा होस्, आइसिसीमा होस् वा एनसिसीमा होस् अलि विचार गरेर भोट हालौँ। संस्थालाई केही योगदान दिन सक्छ, यो सँग केही योगदान दिने क्षमता राख्छ भन्ने खालको उम्मेदवार हेरौँ र मतदान गरौँ।
हामीले चुन्ने मान्छे “हाम्रो” हुनै पर्छ भन्ने छैन तर “राम्रो” भने पक्कै हुनुपर्छ। हामीले मतदान गर्ने उम्मेदवार “छिमेकी” हुनुपर्ने भन्ने छैन तर “विवेकी” भने हुनै पर्छ। हामीले भोट हाल्ने खोजेको मान्छे “आफ्नो लाइनको” हुनै पर्छ भन्ने छैन तर “काम गर्ने पाइन भएको” भने पक्कै हुनुपर्छ।
यदि हामी मतदाताले यति कुरामा ध्यान दिएर भोट गर्यौँ भने अर्को सात सय ३० दिन रोइलो गरेर बिताउन पर्दैन। होइन भने भीरबाट खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न। विवेक प्रयोग गर्नुस्, मतदान गर्नु। अस्तु :