अमेरिकामा आदिकवि भानुभक्त आचार्यको नाममा ‘तीन घण्टा’
बिष्णु हरि घिमिरे
ह्यारिसबर्ग,पेन्सिलभेनिया/ अमेरिकामा रहेका नेपाली समाजले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा मूलधारका राजनीतिज्ञहरुको सहभागिता पनि बाक्लिन थालेको छ।
विभिन्न पार्टीका नेता तथा जनप्रतिनिधिहरू नेपाली समुदायको कार्यक्रममा अतिथिको रूपमा आउने गरेका छन्।
प्रायशः कार्यक्रममा मूलधारका अतिथिहरू आउँछन् आफ्नो छोटो मन्तव्य राख्छन् अनि कार्यक्रम चल्दै गर्दा निस्कन्छन्। नेपाली समुदायका कार्यक्रम त्यसै पनि निर्धारित समय भन्दा घण्टौँ ढिलो सुरु हुन्छ। त्यसमा पनि दर्जनौँ वक्ताको पट्यार लाग्दो नेपाली भाषाको लामो भाषण सुन्न उनीहरूलाई फुर्सद र चाख दुवै नहुन सक्छ।
तर पेन्सिलभेनया स्थित ह्यारिसबर्गमा आइतबार आयोजित दुई सय दशौँ भानु जयन्ती समारोहमा दृश्य अलि फरक देखियो। त्रिवेणी साहित्य मञ्चले आयोजना गरेको कार्यक्रम निर्धारित समयमा नै सुरु भयो।
मञ्चले भुटनीज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलालाई प्रमुख अतिथि र स्वातारा टाउन सीप कमिस्नर बोर्ड अध्यक्ष क्रिस्टीन जुबेकलाई विशेष अतिथिको रूपमा निम्तो दिएको थियो।
कार्यक्रम हलमा प्रमुख अतिथि प्रवेश गर्दा नगर्दै उद्घोषणको जिम्मेवारी पाएका मञ्चका सचिव नारद आचार्य सुदामाले कार्यक्रम सुरु गरी हाले।
मञ्चका अध्यक्ष केशव घिमिरेको सभापतित्वमा भएको समारोहमा स्वागत मन्तव्यको जिम्मेवारी पाएका प्रेम घिमिरेले आधा नेपाली र आधा अङ्ग्रेजीमा बोले। त्यस बाहेक वक्ता, कवि, गायक, गजलकार सबैले नेपाली भाषामा नै बोले। कार्यक्रम झन्डै तीन घण्टा चल्यो।
करिब दुई सय जना क्षमता रहेको हलमा एक जना मात्र गैर नेपाली भाषी थिइन। स्वातारा टाउन सीप कमिस्नर बोर्ड अध्यक्ष क्रिस्टीन जुबेक । हसिली स्वभावकी क्रिस्टीनले त्यो तीन घण्टा धैर्य पूर्वक हलमा नै बिताइन।
केही कविहरूको रचना लामो थियो। बिच बिचमा साउन्ड सिस्टमले पनि आयोजकलाई दुख दिई नै रहेको थियो। उद्घोषक सुदामा भन्दै थिए हामी सिक्दै छौ।
सहभागीले कुर्ची छोड्न थालिसकेका थिए। तर क्रिस्टीन हलमा नै थिइन। जब उनको मन्तव्यको पालो आयो मात्र ३४ सेकेन्डमा धेरै कुरा भन्न भ्याइन। छोटो समयमा पनि आफ्ना धेरै कुरा राख्न सकिन्छ भन्ने उनले उदाहरण पेस गरिन्।
‘नेपाली भाषी समुदाय सँग रहँदा मलाई खुसी लागेको छ। तपाईँहरूलाई आवश्यकता परे जुनसुकै समयमा पनि मलाई सम्झन सक्नु हुने छ।’ मन्तव्य पछि क्रिस्टीनका पाइला अतिथि दिर्धा तर्फ नै लम्किए।
पैसा भन्दा पहिचान ठुलो
कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि भुटनीज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले पैसा भन्दा पहिचान ठुलो हुने कुरामा जोड दिए।
उनले पछिल्लो समय आफ्नो समुदाय आर्थिक रूपमा पनि सक्षम हुँदै गएको बताए। ‘केही समय अगाडिले हामीले संस्थाको लागि सहयोग जुटाउन गरेको डिनरबाट ६० हजार डलर जम्मा गर्यो, अहिले कर्मचारी राखेर हामी समुदायका लागि काम गर्दै छौ।’ निरौलाले भने।
उनले नेपाली भाषा र साहित्यको विकासका लागि आफूहरू सहयोगको लागि तयार भएको भन्दै मञ्चलाई वार्षिक कार्यक्रम र बजेट ल्याउन आग्रह गरे।
समारोहका प्रमुख अतिथि भुटनीज कम्युनीटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाको मन्तब्य…
दुई कृतिको विमोचन
वरिष्ठ साहित्यकार गण्डकी पुत्रले आदिकवि भानुभक्तको जीवनबारे प्रकाश पारेको कार्यक्रममा दुई कृतिको विमोचन गरिएको थियो।
प्रमुख अतिथि, विशेष अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। विमोचित पहिलो कृति ‘बृहत् कविता सङ्ग्रह’ रहेको छ। मञ्चका अध्यक्ष केशव घिमिरेका अनुसार सङ्ग्रहमा विश्वभर रहेका एक सय ४१ कविका कृति समेटिएको छ।
कृतिको मूल्य व्यक्तिगत २१ अमेरिकी डलर र संस्थागत रूपमा एक सय डलर राखिएको छ।
दोस्रो कृति डिल्ली राम शर्मा आचार्यको जीवनी,व्यक्तित्व र कृतित्वको विश्लेषणात्मक अध्ययन एवं मूल्याङ्कन रहेको छ। बोधराज ढुङ्गेलद्वारा लिखित कृति मातृभाषा संरक्षण समूह अमेरिकाले प्रकाशित गरेको हो।
ढुङ्गेलको किताब बारे विषेश अतिथि देवी खनालले विश्लेषण गरेका थिए।
समारोहमा महिलाद्वारा रामायण वाचन गरिएको थियो। भुटानी गजल मञ्चका अध्यक्ष नेत्र आचार्य, अर्का गजलकार त्रिविक्रम न्यौपानेले, कवि मधु घिमिरे लगायत अन्य नयाँ पुराना सर्जकले आ आफ्ना रचना प्रस्तुत गरेका थिए।
अमेरिकामा अध्ययन सुरु गरेका बालबालिकाहरूले पनि नेपाली भाषामा कविता वाचन गरेका थिए। विशेष अतिथिका तर्फबाट डा. नारद पोख्रेलद्वारा बाचित कविता मार्मिक थियो। भुटानी नेपालीले हिजोका दिनमा भोग्नु परेका समस्यालाई पोख्रेलले कवितामा उतारेका थिए।
डा. नारद पोख्रेलद्वारा वाचित कविता
कवि मधु घिमिरे कविता बाचन गर्दै
भानु जयन्ती समारोहको हाइलाइट