एनआरएनएको वर्तमान संरचनाले संस्था चल्दैन : उपाध्यक्ष शर्मा
लण्डन । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले वर्तमान संरचनाले संस्था चल्न नसक्ने बताएका छन् ।
डा. शर्माले गैर आवासीय नेपाली संघ युकेको ११ औँ साधारण सभालाई आइतबार अल्डरशटमा सम्बोधन गर्दै संघ अहिलेको संरचनाले चल्न नसक्ने भन्दै बदल्नुपर्ने बिचार व्यक्त गरे । उनले आँफै सदस्यता दिने आफै निर्वाचन लड्ने र नेता बन्दा पैसा हुने मात्रै नेतृत्मा पुग्ने उनको तर्क गरे ।
उनले सदस्यता वितरण देखी निर्वाचन गर्न स्वायत्त संस्था खडा गरिनुपर्ने बताएका छन् । स्वायत्त संस्थाबाट निर्वाचन गरिदा पैसा खर्च नहुने र असल नेतृत्व आउने उनको भनाइ छ ।
बेलायतको अधिवेशनलाई सम्बोधन गर्दै डा. शर्माले अनलाइन भोटिङ नहुँदा उम्मेदवार र भोटरको समय र पैसा धेरै खर्च भएको भन्दै अनलाइन भोटिङमा जानुपर्ने बताएका हुन्।
अहिले प्रविधिले धेरै सहज बनाएको बताउँदै संस्थालाई त्यसैअनुसार चलाउन सक्नु पर्ने बताए। अहिले ट्रान्जेक्सन पिरियड रहेको उल्लेख गर्दै दोस्रो पुस्ताको एनआरएन आउने बेलासम्म सुधार गरिनुपर्ने उनको भनाइ छ ।
‘केन्द्रीय महाधिवेशन आउँदै गरेकाले अनलाइनबाट भोटिङ गर्ने व्यवस्था मिलाउन सके काठमाण्डौं जाने बस्ने खर्च जोगिने उनको तर्क छ । त्यस्तै शर्माले एनआरएनएमा समाजसेवाको भावले आउन समेत सुझाएका छन् ।
एनआरएनएमा लाग्दा नेपाली समाजबाट इज्जत पनि पाइने उनको भनाइ छ । उपाध्यक्ष डा हेम राज शर्माले एनआरएनएलाई पैसा र राजनीतिको प्रभावबाट मुक्त गर्न आफूले अनलाइन मतदानमा जान जोड दिँदै आएको बताए।
उनले नेपाल बाहिर हुर्की रहेको दोस्रो पुस्ताले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरिरहेको बताउँदै उनीहरूलाई नेपालसँग जोडेर ‘ब्रेन गेन’ गर्नु पर्ने बताए। उनले संसारभरिका नेपालीलाई एक अर्कासँग जोड्न पनि यो संस्थालाई बचाउनु पर्ने बताए। तर उनले माथिको राजनीति गर्न र आफ्नो करिअरलाई नबिगार्ने गरी एनआरएनएमा जोडिनु पनि आग्रह गरेका छन् ।