पेन्सिलभेनियामा जुलाई १५, शनिवार ‘साङ्गीतिक र सांस्कृतिक साँझ’
पेन्सिलभेनिया,अमेरिका / पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गमा जुलाई १५ तारिक शनिवार नेपालबाट आएका चर्चित कलाकार र स्थानीयहरूको ‘साङ्गीतिक र सांस्कृतिक साँझ’ हुने भएको छ।
‘इन्टरटेन्टमेन्ट फेस्ट’ नाम दिइएको कार्यक्रम एके म्यानेजमेन्टले आयोजना गर्न लागेको हो।
एके म्यानेजमेन्टका सिइयो आलोक कार्कीका अनुसार कार्यक्रममा महानायक महानायक राजेश हमाल, गायक सुगम पोखरेल प्रस्तुति रहने छ।
यसै गरी हास्य व्यङ्ग कलाकार विल्शन विक्रम राई ‘तक्मेबुढा’ ले पनि प्रस्तुति दिने छन्। कार्यक्रमको उद्घोषण आसिफ साहले गर्ने छ।
यो टोलीले अमेरिकाको विभिन्न राज्यमा प्रस्तुति दिँदै आएको छ। ह्यारिसबर्गमा भने कार्यक्रमको मोडल केही फरक हुने छ। ‘हामीले शनिवार साँझ दुई चरणमा कार्यक्रम राखेका छौ।’ एके म्यानेजमेन्ट सिइयो कार्कीले समाज टाइम्स सँग भने ।
कार्कीका अनुसार साङ्गीतिक र सांस्कृतिक ठुलो हलमा साँझ ६ बजे देखि नौ बजे सम्म हुने छ। त्यस पछि साँढे नौ बजेबाट मध्यरातमा सम्म तोकिएका व्यक्ति र प्रख्यात कलाकारहरू बिचमा ‘मिट एण्ड ग्रिट’ हुने छ।
कार्कीका अनुसार ‘साङ्गीतिक र सांस्कृतिक’ कार्यक्रममा लागि दुई प्रकारको प्रवेश टिकट तोकिएको छ। साधारण टिकटको मूल्य ५० अमेरिकी डलर तोकिएको छ। यस्तै भिआइपी टिकट मूल्य ८० डलर रहने छ।
‘मिट एण्ड ग्रिट’ टिकटको मूल्य एक सय ५० डलर तोकिएको छ। कार्कीका अनुसार मिट एण्ड ग्रिटमा करिब एक सय जना सहभागी हुने छन्। डेरी स्ट्रिटमा हरेको गुराँस स्पाइस हाउसमा कलाकार सँग मिट एण्ड ग्रिट हुने छ।
एके म्यानेजमेन्टका कार्यकारी निर्देशक प्रकाश थापाका अनुसार साङ्गीतिक र सांस्कृतिक कार्यक्रम हुने हलको क्षमता पाँच सय जनाको रहेको छ।
थापाका अनुसार कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति पनि रहने छ। ‘यहाँ केही नृत्य स्कुल छन् हामी उनीहरूको प्रस्तुति पनि राख्ने छौ।’ समाज टाइम्स सँग थापाले भने।
‘रेड ओशन मल्टी एकेडेमी र बोल्मिङ्ग लोटस डान्स स्टुडियोका विद्यार्थीहरूको प्रस्तुति रहने छ। यस्तै
प्रकाश मगर र उज्ज्वल जोगीले पनि गाउने छन्।’ थापाले भने ।
साङ्गीतिक र सांस्कृतिक कार्यक्रम साँझ साँढे पाँच बजेबाट ढोका खुल्ला हुने आयोजकको भनाई छ।