एनआरएनए अमेरिका निर्वाचन : सर्वसम्वतको ‘कबुलियतनामा’ बोकेर कता हराए सुमन थापा ?
पेन्सिलभेनिया,अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको निर्वाचनले सामाजिक सञ्जाल रङ्गिएका छन्।
फेसबुकमा उमेदवार घोषणाको पोस्टर टास्न प्रतिस्पर्धा चलेको छ। एनआरएनए अमेरिका निर्वाचन आयोगले जुलाई १७ र १८ तारिकलाई मतदानको दिन भनेको छ।
जुन २१ देखि २३ तारिक सम्मलाई उमेदवारी मनोनयन दर्ता समय तोकिएको छ। अध्यक्ष पदमा संस्थापन पक्षबाट डिलु पराजुलीले गत शनिवार आफ्नो गृहराज्य केन्टकीबाट औपचारिक रुपमा उमेदवारी घोषणा गरेका छन्।
पराजुली भन्दा एक दिन पछाडि टेक्सासबाट डा. अर्जुन बञ्जाडेले पनि उमेदवारी घोषणा गरे।
तर अध्यक्षको उमेदवार भनेर यस अगाडि चर्चा गरिएका सुमन थापाको भने अहिले सम्म अत्तोपत्तो छैन्।
संस्थापन पक्ष निकट भनिएका थापाले आइतवार टेक्सासमा डा. बञ्जाडेको चुनावी घोषणा सभामा मन्तव्य दिएका थिए। उनको मन्तव्य ‘हो पनि, होइन पनि’ भन्ने शैलीको थियो।
जवकी उनले डा. बञ्जाडेबाट सर्वसम्मतिको ‘कबुलियतनामा’ लिएको बताइएको थियो।
‘संस्थापन पक्षले सुमन थापालाई अध्यक्षको उमेदवार बनाए आफु निर्वाचन नलड्ने’ भन्ने बेहोराको कबुलियतनामा डा. बञ्जाडेले थापालाई थमाएको बताइएको छ।
डा.बञ्जाडेले पनि त्यसको पुष्टि गरे। ‘हो मैले लेखेरै दिएको हुँ, मलाई नै अध्यक्ष चाहिन्छ भन्ने पक्षमा म छैन, सर्वसम्मतिका लागि म बाधक छैन्।’ समाज टाइम्स सँग डा. बञ्जाडेले भने।’यदी अर्को पक्षले सुमन थापालाई उमेदवार बनाउछ भने म चुनाव लड्दिन भनेकै हो।’
डा. बञ्जाडेले अब तोकिएको समय सकिएको बताए। ‘मैले उहाँलाई जुन १४ तारिक बुधवार मध्यराति सम्मको समय दिएको हो ११ बजे तिरै उहाँले मैले सकिन भन्नु भयो ।’ बञ्जाडेले भने, ‘संस्थापन पक्षले तपाईहरु टेक्सासबाटै दुई जना अध्यक्षको उमेदवार हुनुभयो, टेक्सासको समर्थन ल्याउनु भयो भने हाम्रो तर्फबाट तपाई हो भनेका छन् भनेर सुमन जी म कहाँ आए पछि मैले म बाधक हुन्न भनेको हुँ।’
तर संस्थापन पक्षमा ‘टिम’ बनाउन लागेका मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले जुन नौ तारिक सम्ममा थापालाई समय तोकेको दावी गरे।
‘हो मैले टिम मिलाउने क्रममा डिलु पराजुलीको औपचारिक घोषणा हुनु भन्दा अगाडिका लागि त्यो भनेको हो। समाज टाइम्स सँग सुवेदीले भने।
उनले अहिले थापाले पाएको पत्रको बारेमा आफुले सुनेको तर नदेखेको बताए। ‘पत्र आएको छ भन्ने सुनेको हो मैले हेरौ न त भनेको उहाँले (थापाले) देखाउनु भएन।’
सुवेदीले संस्थापन इतर पक्षले झुक्याउन मात्र पत्र दिएको बताए। ‘यो उहाँहरुको रणनीति हो, हामीले तलाई त गरेकै हो नी, उनीहरुले गरेनन नी, देखिस भनेर आफ्नो क्याम्पमा ल्याउने रणनीति हो।’ सुवेदीले भने। ‘उहाँले साच्चिकै सर्वसम्वत चाहेको हो भने उमेदवारी घोषणा गर्न हुदैन थियो, घोषणा पनि गर्ने अनि चिठ्ठि लेखेर दिने त्यो त राम्रो भएन।’
सुवेदीले बञ्जाडेको पत्रमा इमान्दारिता नदेखिएको बताए। ‘घोषणा गर्नु अगाडि नै हाम्रो तर्फबाट सुमन हो भनेर भन्नु पर्यो नी। यो त यता फाटो ल्याउने चाल हो।’
संस्थापन पक्षको टिमका ‘सर्वोच्चनेता’ बनाइएका अर्का व्यक्ति नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डितले पनि पत्र बारेमा अनविज्ञता जनाए।
‘खै त्यस्तो पत्र त मैले देखिन, कसैको नाममा एक लाख डलरको चेक लेखेर आफ्नै खल्तिमा राख्ने अनि मैले पैसा दिए भनेर के अर्थ भो र।’ डा. पाण्डितले भने, ‘सर्वसम्मतिको लागि सबैजना इमान्दार हुनु पर्यो।’
उनले भर्जिनियाको भेटमा नै बञ्जाडे सँग आफुले प्रस्ट कुरा राखेको दावी गरे। ‘म भर्जिनिया जादा अर्जुन जीले सर्वसम्वतको लागि प्रयास गरौ भन्नु भएको हो। तर मैले त्यसको लागि म लिड गर्दिन भनेको हुँ ।’
उनले भने ‘डेमोक्रयाटहरु बीचमा मात्र सर्वसम्वत हो, भने जनसम्पर्क समितिले त्यसको लिड गर्नु पर्छ र सबै पक्षको हो भने एनआरएनएको लिडरले लिड गर्नु पर्छ त्यसमा मेरो सहमति छ भनेको हुँ।’
डा.पण्डितले आफु सहमतिको विरोधी नभएको प्रस्टाए । ‘म को हुँ र मैले सहमति गराउने ? म त्यो पात्र होइन, तर सहमतिका लागि म तयार छु, इमान्दारिताका साथ सबै लाग्नु पर्यो।’
संस्थापन पक्षबाट अध्यक्षका उमेदवार डिलु पराजुलीले आफु अगाडि बढे पछि कुरा आएको बताए। ‘सर्वसम्वतका लागि म बाधक छैन, खाका ल्याउन पर्यो ।’ उनले भने,’दश तारिक सम्म म एक्लै थिए अब टिम बन्यो टिमले निर्णय गर्छ। तर म सहमतिको विरोधी होइन।’
जुन १५ तारिक पछि सर्वसम्वत कबुलियतनामा पत्रको म्याद सकिएको छ। कबुलियतनामा पत्रमा यदी सुमन थापाले संस्थापनबाट टिकट नपाए औपचारिक रुपमा डा. बञ्जाडे टिमलाई सघाउने सर्त राखिएको जनाइएको छ। तर थापाले आफै अध्यक्षको उमेदवार हुने वा डा. बञ्जाडे टिमलाई खुलेर सहयोग गर्ने भन्ने निर्णय सार्वजनिक गरेका छैनन्।
लगातार तीन दिन सम्म पटक पटकको प्रयास पछि बिहिवार समाज टाइम्सको सम्पर्कमा आएका थापाले आफु अझै बोल्न सक्ने अवस्थामा नरहेको बताए।
‘मैले अहिले औपचारिक रुपमा बोल्न मिलेको छैन।’ थापाले भने।’मैले धेरै कुरा पछि गर्छु, सबै कुरा अहिले नै भन्न गाह्रो छ मलाई दुई चार दिन समय दिनुहोस, समाज टाइम्स सँग भने, ‘म तपाई सँग किन के भयो भन्ने बारेमा बोल्छु । म बाहिर नै आउछु।’
एनआरएनए अमेरिकाको राजनीतिमा थापा एकै पटक एनसीसीको उपाध्यक्षमा फड्को मार्ने भाग्यमानी हुन्। तर उनी एनआरएनए पदाधिकारी मध्येमा सम्पर्कका लागि सबै भन्दा कठिन व्यक्तिमा पर्दछन्।