प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभा केन्टकीमा
पेन्सिलभेनिया,अमेरिका / प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभा केन्टकीमा हुने भएको छ।
मञ्चद्वारा बुधवार साँझ आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार जून १७ तारिक शनिवार केन्टकीको लेक्सिन्टनमा साधरण सभा हुने छ।
साधरण सभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहने छन्। यसै गरि एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पनि विषेश अथितिको रुपमा साधरण सभामा सहभागिता जनाउने छन्।
मञ्चका सचिव थोमस बास्तोलाका अनुसार पोखरेल र भट्टराई नेपालबाट अमेरिका प्रस्थान गरिसकेका छन्। उनीहरु बिहिवार केन्टकी आइपुग्ने कार्यक्रम रहेको छ।
बास्तोलाका अनुसार साधरण सभामा अमेरिकाका विभिन्न राज्यबाट दुई सय भन्दा बढीले सहभागिता जनाउने छन्।
मञ्चका अध्यक्ष कृष्ण लामिछानेका अनुसार साधरण सभामा संस्थाको भाविकार्यदिशाका बारेमा छलफल हुने छ। यसै गरि विभिन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन्।
साधरण सभाका बारेमा मञ्च अध्यक्षद्वारा जारी विज्ञप्ति
प्रेस विज्ञप्ति
जून १४, २०२३
प्रिय मित्रहरू
प्रवासी नेपाली मञ्च (अोएनएफ) अमेरिकाको वार्षिक साधारण सभा केन्टकी राज्यको लेक्सिन्टन सिटीमा हुन गइरहेको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । मञ्चको तेस्रो अधिवेशन भएको ठीक एक वर्षपछि यही जून १७ तारिख शनिबार हुने यस केन्द्रीय भेलालाई सम्बोधन गर्न प्रमुख अतिथि नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेल र विशेष अतिथि नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई भोलि (जून १५) बिहीबार नै केन्टकी अाइपुग्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी, उत्तर अमेरिका क्षेत्रीय कमिटी, राष्ट्रिय कमिटी, तथा राज्य कमिटीका पदाधिकारी, सदस्य र विभागीय जिम्मेवारीमा रहेका करिब २०० भन्दा बढी जिम्मेवार साथीहरूको उपस्थिति रहनेछ ।
कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले शुभकामना दिनुका साथै विभिन्न विषयविज्ञहरूले सम्बन्धित विषयमा अाफ्नो धारणा लिखित प्रस्तुति सहित राख्ने कार्यक्रम छ: जसअन्तर्गत १. बहुध्रुवीय विश्वमा असंलग्नता: अवसर र चुनौति (डा. दिनेश पौडेल), २. हिमालय क्षेत्रमा जलवायु परिवर्तन र नेपालमा यसको वातावरणीय प्रभाव, (डा. रूद्र अर्याल) ३. समावेशी समृध्दि र दिगो विकास: नेपालको सर्वाङ्गीण विकासको बाटो (डा. सतीश देवकोटा), ४. राष्ट्रिय हितको कसीमा गैर-आवासीय नागरिकता (डा. कृष्ण ढकाल र छबि पाण्डे) रहेका छन् ।
यसका अलवा, नेपालको समसामयिक राजनीतिक परिस्थिति; ज्ञान,सीप, प्रविधि र लगानी नेपालभित्र भित्र्याउन अोएनएफ, एनअारएन लगायतका महत्वपूर्ण संस्थाहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विगतको समीक्षा गर्दै भावी कार्यदिशा र कार्ययोजना तय गरिनेछ ।
कार्यक्रम
मिति: 2023 June 17 (Saturday)
उदघाटन सत्र: 11:00AM – 3:00 PM
बन्दसत्र: दिउँसो 3:00 – 7:00 PM
स्थान: 1025 Early Dr, Winchester, KY 40391
कृष्ण लामिछाने
अध्यक्ष
प्रवासी नेपाली मञ्च,अमेरीका