एमाले सचिवालय बैठकले गर्यो जिम्मेवारी हेरफेर
काठमाडौं । नेकपा एमालेले, केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले, अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको जिम्मा दिएको एमालेले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतलाई विभिन्न विभागको संयोजनको जिम्मा दिइएइको उनको भनाई छ । ज्ञवालीले भने ‘ योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई, पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलता रामबहादुर थापालाई, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोत युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाह सुवास नेम्वाङ, प्रशासन विष्णु पौडेलले जिम्मेवारी पाउनुभएको छ ।’
सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको एमालेले सुदूरपश्चिममा छविलाल विश्वकर्मा, कर्णालीमा प्रदेश लेखराज भट्ट, लुम्बिनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, मधेस योगेश भट्टराई, कोशीमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको छ ।
बागमतीमा भने केन्द्रीय कार्यालयले हेर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।
त्यसैगरी पार्टी केन्द्रीय संगठनको जिम्मेवारी काशीनाथ अधिकारी र प्रचारको राजेन्द्र गौतमले पाएका छन् । एमालेले स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर भएका सहमतिप्रति एमालले असन्तुष्टि जनाएको छ । भारतको चाहाना बजोजिम प्रधानमन्त्रीले विभिन्न सम्झौता गरेको एमालेको आरोप छ ।
एमालले नागरिकता विधेयक प्रमाणिकरणको पनि विरोध गरेको छ । उसले विधेयक प्रमाणिकरणले संसदको अपमान गरेको ठहर गरेको छ ।