प्रचण्डको धार्मिक रुपान्तरण, मन्त्रीहरु गेरुबस्त्रमा …
काठमाडौं / प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धर्मलाई अफिम मान्ने स्कुलिङबाट आएका हुन् । तत्कालिन जनयुद्धका बेला परम्परागत मान्यता भत्काउँदै धार्मिक र कर्मकाण्डी मान्यतामाथि प्रहार गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै हिडेका हुन्थे ।
धार्मिक परम्पराको कट्टर विरोधीको रुपमा राजनीतिलाई स्थापित गर्ने क्रममा माओवादी कार्यकर्ताले २०५८ असोजमा रामेछापको नागदह गाविस–४ मा गाई काटेर भोज नै खाए ।
२०६० साल मंसिरमा उदयपुरको तत्कालीन बट्टार गाविसका विष्णु कार्कीको किरिया गर्न लाग्दा माओवादीले ढिकुरो भत्काए, काजकिरिया गर्न दिएनन् भने सोही बर्ष अछामको विनायक गाविसस्थित कालोसिम्लो मस्टो देवताको मन्दिर भत्काए, मन्दिरमा दिसा–पिसाब पनि गरे ।
तत्कालीन माओवादीले २०६१ सालमा दैलेखको गमौडीस्थित शिरस्थान मन्दिरका पुजारीलाई निर्घात कुटपिट गरे । जनसत्ताको निर्णय अवज्ञा गर्दै पूजा गरेको आरोपमा पुजारी कुटिए, मन्दिरमा दिसा–पिसाब गरियो । यसैगरी वाचन शिरोमणी नारायण प्रसाद पोखरेलको हत्या पनि माओवादीबाटै भएको भन्ने आरोप लाग्ने गर्छ ।
कट्टरपन्थी कम्युनिस्ट राजनीतिक दर्शन बोकेको तत्कालीन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा कार्यकर्ताले धर्मलाई विकासको बाधक ठान्दै सशस्त्र विद्रोह समयावधिमा सर्वसाधारणलाई धर्म नमान्न उर्दी नै जारी गरेका थिए । तर, उनै प्रचण्ड अहिले आफै गेरुवावस्त्र धारण गरेको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
प्रचण्ड अहिले तेस्रो पटक प्रधानमन्त्री भएका छन् । सशस्त्र युद्ध गरेर शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा आएपछि भने प्रचण्ड धार्मिक विधि र पद्दतिबाट चल्न थालेका छन् । यसलाई उनले सहजै रुपान्तरणको रुपमा अर्थ पनि लगाउन थालेको राजनीतिक क्षेत्रमा चर्चा चल्ने गरेको छ ।
संसदीय राजनीतिमा आएसँगै प्रचण्डलाई धार्मिक कार्यक्रम उद्घाटन, साधुसन्तसँग आशीर्वाद थाप्ने र पूजापाठमा रमाउने गरेको देखिएकै छ भने पछिल्लो समय प्रचण्डलाई ज्योतिषशास्त्रसँग पनि उत्तिकै विश्वास जाग्न थालेको कुरा यसअघि सार्वजनिक भइसकेको विषय हो ।
धर्मलाई विकासको बाधक मान्ने प्रचण्ड भैंसी पूजा हुँदै अब कुण्डली नदेखाई कुनै काम नथाल्ने अवस्थामा परिणत भइसकेको स्वयं माओवादी नेताहरु नै टिप्पणी गर्छन् ।
अहिले प्रचण्ड भारत भ्रमणमा छन् । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ४ दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका हुन् । दिल्लीमा राजनीतिम भेटवार्ता र सम्झौताहरु गरेपछि शुक्रबार भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका छन् । उज्वेनस्थित महाकालेश्वरलाई हिन्दूहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन् ।
दौरासुरुवालमाथि गेरुवस्त्र लगाएका प्रधानमन्त्री प्रचण्डलाई विशेष पूजा अर्चना गर्न त्यहाँका पुजारीहरुले सहयोग गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै अरु मन्त्रीहरुले पनि गेरुवस्त्रमा पूजा गरेका छन् ।
प्रचण्डसँगै मन्त्रीहरुको गेरु वस्त्रको अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै थरी प्रक्रियाहरु आइरहेका छन् । कतिपयले बाबुको किरिया नगर्ने प्रधानमन्त्री प्रचण्डले सत्ता र शक्तिका लागि अहिले यो नाटक गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
भारतमा विदेशी पाहुना जाँदा उनीहरुलाई साइड भिजिटका रुपमा नयाँ दिल्लीबाहेक अनेत्र पनि लैजाने परम्परा जस्तै छ । अमेरिका, युरोप लगाएतका ठाउँबाट आउने विदेशीलाई भारतले आइटी क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेका क्षेत्र भ्रमण गराउँदा नेपालका प्रधानमन्त्री प्रचण्डलाई मन्दिरको भ्रमण गराउनु पनि त्यहाँको राजनीतिक स्वार्थ रहेको बताउने गरिन्छ ।
नेपालमा हिन्दूहरुको बाहुल्यता रहेको छ भने यहाँको संविधानमा धर्मनिरपेक्षता लेखिएकोमा भारत सन्तुष्ट छैन, त्यसैले पनि प्रचण्डलाई मन्दिरको दर्शन गराएर धर्मप्रति प्रेरित गर्ने प्रयास गरेको रुपमा पनि बुझ्न सकिन्छ ।
#WATCH | Nepal’s PM Pushpa Kamal Dahal ‘Prachanda’ offers prayers at the Mahakal Temple in Ujjain, Madhya Pradesh.
(Video: Mahakaleshwar Temple Committee) pic.twitter.com/0EsazSmPdA
— ANI (@ANI) June 2, 2023