शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्याए ठूलो आन्दोलन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याउँनबाट बञ्चित गरिने काम भयो भने ठूलो आन्दोलनमा हुने चेतावनी दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित १५औं गणतन्त्र दिवसः उपलब्धि र रक्षा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामायिक विषयक विशेष अन्तर संवाद कार्यक्रममा उनले साँचो अपराधीहरुलाई नछोड्न र निर्दोषलाई नफसाउँन आग्रह गरे ।
उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पु¥याउँनबाट बञ्चित गरिने काम गरिए नेपाली जनताले सहन सक्ने छैनन् । र आन्दोलनको सम्भावना छ । यो आजको सरकारले सुनोस् र प्रहरीले पनि सुनोस् । साँचो अपराधीहरुलाई नछोड्नुहोस् तर अपराध नगरेकोलाई फसाउँन खोजिएको छ भने त्यसलाई अनुसन्धान गर्नुहोस् ।’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पाँच वर्ष अगाडिको अपराध अनुसन्धान गर्न नपर्ने भन्ने ऐन संसोधन गर्न लागिएको कुरा सुन्नमा आएको भन्दै त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले अपराधीलाई ढिलै भएपनि कारवाहीको कठघरामा उभ्याउन माग गरे ।