स्थानीय स्रोत साधन प्रयोग गरेर मुगुमा विद्यार्थीले गरे शैक्षिक प्रदर्शनी
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा ७ कर्णाली माध्यमिक विद्यालय टोप्लामा शिक्षक,विद्यार्थीहरुको सहकार्यमा शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन गरिएको छ ।
शिक्षण सिकाई क्रियाकलापलाई सहजरुपमा प्रभावकारी बनाउन, सिकाईलाई चिरस्थायी र प्रभावकारी बनाउने उदेश्यका साथ शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन गरिएको हो ।
कर्णाली माध्यामिक बिद्यालय टोप्लाका शिक्षक र विद्यार्थीहरुको समन्वय र सहकार्यमा एक साता भर स्थानीय स्रोत साधनका सामग्री निमार्ण गरेर शैक्षिक सामग्री प्रदर्शन गरेका छन् ।
पाठयक्रममा रहेका शैक्षिक क्रियाकलाप,आवश्यक तस्विरको अवलोकन गरेर विद्यार्थीहरुले शिक्षकको समन्वयमा स्थानीय स्रोत साधनबाट खेर गएका कागजका विभिन्न खेलाउन सामग्री, निगालो, माटोका, ढुङ्गा,काठ, सिमी ,मकै जौ,उवाका फल तथा डाँठबाट निमार्ण सामग्री बनाएका छन् ।
शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन, सिकाईलाई चिरस्थायी र प्रभावकारी बनाउने उद्धेश्यकाका साथ यो शैक्षिक सामग्री प्रर्दशनी गरिएको कर्णाली माध्यामिक विद्यालय टोप्लाका प्रधानाध्यापक चन्द्र प्रकाश बडुवालले जानकारी दिए । उनका अनुसार यसले विद्यार्थीहरुको रचनात्मक क्षमता बढ्नुका साथै विद्यार्थीहरुमा सिकाई दिगो र अर्थपूर्ण,व्यवहारिक राख्ने प्रधानध्यापक बडुवालले बताएका छन ।
यस बिद्यालयमा ४५० जना बिद्यार्थी अध्ययनरत छन । शिक्षण सिकाई क्रियाकलापमा आवश्यक शैक्षिक सामग्री निमार्ण कार्यमा बिद्यार्थीहरुको उत्साहजनक सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु यसमा चित्रकला निमार्णमा एक अर्कोलाई सघाउदै आत्मीयताको भाव देखाएर सहभागी भएका र यो सिकाईले विद्यार्थीहरुमा पठनपाठनमा सहज बनाउने विश्वास विद्यार्थीहरुको छ ।
विद्यालयलाई राम्रो बनाउनका लागि सरोकारवाला निकाय, शिक्षक अभिभावकको उत्तिकै भुमिका हुन्छ ।
शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिष्णुकुमार भामले शैक्षिक सामग्री अवलोकनबाट आफु पनि प्रेरित भएको बताए ।
उनले भने ‘ विद्यालयहरुमा पाठय्पुस्तकको अध्ययन मात्र नभई विद्यार्थीहरुको शिक्षण सिकाईलाई सहज बनाउन, प्रभावकारी तुल्याउन अन्य विद्यालयले पनि यस्तो सिको गर्नु पर्ने देखिएको छ । विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा पाठयपुस्तकको जति भुमिका हुन्छ, शैक्षिक क्रियाकलापको पनि उत्तिकै भुमिका हुन्छ । ’