१५ दिनदेखि सत्याग्रहमा बसेकी बिनुले तोडिन अनसन
काठमाडौं । आफ्नै प्रेमी प्रदीप कठायत र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले अनसन तोडेकी छिन् ।
बुधवार यादवले १५ औं दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनसन स्थल माईतीघरमा पुगेर बिनुको अनसन तोडाएका हुन् ।
काठमाडौंको माईतीघरमा बैशाख २७ गतेदखि अनसन बसेकी यादवले सरकारसँग ५ बुँदे सहमति भएपछि उनले गृह मन्त्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोडेकी हुन्।
सरकारले बलात्कारको मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा पठाउने, अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण गर्ने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने तथा सत्याग्रही यादवको पछिल्लो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य उपचार गराउने लागयतका सहमति भएपछि उनले असनसन तोडेकी हुन् ।
यस्तो छ सत्याग्रही बिनु यादव र सरकार पक्षबीच भएको सहमति
१. सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६/०१/३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६/०१/३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६/०२/०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।
२. सत्याग्रही विनु यादवका मागहरुमध्ये सम्मानित अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण हुने नै छ ।
३. अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।
४. सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य अपरीक्षण गरी स्वास्थ्य उपचार गर्न र नीजको जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला वालवालिका तथा नागरिक मन्त्रालयमा लेखी पठाउने ।
५. मिति २०७० वैशाख २७ गतेदेखि सत्याग्रह अनसन गरेकी बिनु यादवले आजकै मितिबाट सत्याग्रह अन्त्य गर्ने ।