शरणार्थी प्रकरणमा आफ्नो सरकारको पाला कुनै गडबडी नभएको ओलीको दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले आफुलाई दोषी बचाउन खोजेको आरोप जबर्जस्ती प्रमाणित गर्न खोजिरहेको बताए ।
उनले भने ‘ ६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरियो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो । यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न । हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन ।’
अध्यक्ष ओलीले शरणार्थी प्रकरणको दोषीलाई उम्काउने र निर्दोषलाई फसाउँने षडयन्त्र भइरहेको पनि दावी गरे । उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई सुझाव समेत दिए ।