ठूला नेता मिलेका : अरब अरब निलेका

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै उक्त प्रकरणका मूल दोषीहरुमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ ।
यस क्रममा“नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाउ :संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले आज काठमाण्डौको माइतिघरमा धर्ना तथा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा ठूला नेता मिलेका : अरब अरब निलेका, शिर्ष नेताहरुको सम्पत्ति छानविन गर, शिर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ :लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ, भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो, लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु : कुशासन र दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेताहरुसहित सबैलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
दिउँसो १ बजेदेखि एक घण्टासम्म भएको प्रदर्शनमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शिर्ष नेताहरुको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको बताउँदै प्रमुख दलका शिर्ष नेताहरुको तत्काल सम्पत्ति छानविन हुनुपर्नेमा जोड दिए ।

धर्ना प्रदर्शनमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह के.सी, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रष्टाहरु अर्जुन पराजुली, रामेश्वरी पन्त र धिरेन्द्र प्रेमर्षिले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषिहरुलाई कारबाहीको माग गर्दै कविता प्रस्तुत गरेका थिए ।

प्रदर्शनमा सत्याग्रही डा. गोविन्द के.सी, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, पदाधिकारीहरु कृष्णबहादुर रावल, रामप्रसाद जोशी, चन्द्रमणी बञ्जारा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरु रत्नलक्ष्मी श्रेष्ठ, बल बहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, बिमल अर्याल, गीता तिमल्सिना, उमा गौतम, भगवान पुडासैनी, प्रमोद फुयाल, ईश्वर पुडासैनी, जयराम पुडासैनी, नानिकाजी गिरी, विकास थापा, रमेश बराल, रुपा गिरी, शर्मिला बोेगटी, रोज विष्ट, .सहित १०० जना अधिकारकर्मीहरुको सहभागिता थियो ।
