मुकेशको परिवारलाई राष्ट्रपतिद्वारा दुःख व्यक्त
बनेपा । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भई गत बैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घरमा पुगेर दुःख व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाहरूको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र मुकेशको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गरेका छन् ।
त्यस्तै बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताए ।
बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले राष्ट्रपति मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललाई माग पत्र हस्तान्तरण गरेका थिए ।
दोस्रो जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको बैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ वर्ष १ महिना अचेत अवस्थामा रहेका थिए ।