विदेशबाट पनि मतदान गर्ने व्यवस्था गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् ।
नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनुनपर्ने बताए ।
उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको दावी गरे ।
पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनाउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताए ।