अमेरिकामा कल्चर वार (सांस्कृतिक लडाई) झन् बढ्दै
लेखनाथ गौतम
टेक्सास /उसले सँधै पसलमा आएर चार वटा बड्लाइट बियर किन्थ्यो। त्यो शिलशिला बर्षौंसम्म चलिरहेको थियो। एकदिन अचानक उसले कुर्स- लाइट नामको बियर ल्याएर आयो। मैले सोधे तिमीले सँधै खाने बियर सिद्दिएछ र यो अर्को ल्याएको ?
उसले यसबारे आफुले सबै कुरा नभन्ने बताए । तर जाँदा जाँदै उनले आफुले पिउने गरेको बियर कम्पनीले आफ्नो विश्वास अर्थात् ‘फेथ’ विपरितको नीति लिएकोले आफुले अव जीवनभर त्यो कम्पनि निर्मित कुनै उत्पादन प्रयोग नगर्ने भन्दै बाटो लागे। म आश्चर्यमा परें। के भएछ भन्ने मात्र भयो।
पछि बुझ्दै जाँदा कम्पनीले तेश्रोलिङ्गि डाइलन मुल्भेनी नामक नायिकाको फोटो बड्लाइट बियरको बाहिरको कभरमा राखेकोमा उनको आपत्ति रहेछ।
केही अतिवादी दक्षिणपन्थी विश्लेषकहरुको कमेन्टको आधारमा उनले बड्लाइट बियर नपिउने निर्णय गरेका थिए। क्रिस्चियन धर्मका परम्परावादी समर्थकहरु तेश्रोलिङ्गिहरुलाई घृणा गर्छन र उनीहरुलाई समाजमा समान इज्जत दिन मान्दैनन।
केहि दिन अघि मात्र टेनेसी राज्यको रिपब्लिकनहरुको ठूलो बहुमत भएको राज्य सभाले दुइवटा अस्वेत सांसदहरुलाई संसदमा बोल्दा संसदीय नीति उल्लङ्घन गरेको भन्दै निस्कासन गरिदियो।
केहि दिन अघि नासभिलको एउटा क्रिस्चियन स्कूलमा बन्दुकधारीको आक्रमणमा ६ जनाको ज्यान गयो। जसमा तीन जना नौ वर्षीया विद्यार्थी थिए भने बाँकी कर्मचारी ।
त्यस पछि बन्दुक सम्बन्धि केहि कानुन ल्याउन ध्यानाकर्षण गर्न सभाको हलमा “प्रदर्शन” भयो। प्रदर्शन गर्ने तीन जना मध्ये दुई जनाको जागिर गयो। संयोग नै मान्नु पर्छ जागिर बच्ने महिला स्वेत थिइन। उनीविरुद्धको प्रस्ताव पास हुनै सकेन।
यी दुइ घटना अमेरिका कसरी विभाजित हुँदैछ भन्ने उदाहरण मात्र हुन्। यस्ता सयौं उदाहरणहरु छन् जसले अमेरिकालाई विस्तारै कमजोर बनाइरहेको छ।
एकातिर अमेरिका साँस्कृतिक रुपमा बहुसाँस्कृतिक भैरहेको छ भने अर्को तिर यसलाई स्वयतहरुको प्रभुत्वमा राखिरहन ठूलो प्रयास भैरहेको छ। कानुनको शासन भएको र कानुन सबैले पालन गर्नु पर्ने भएकोले संविधान र कानुनको व्याख्या गर्ने ठाउँमा आफ्ना एजेन्डा अनुसार काम गर्नेहरु छानी छानी विभिन्न संघिय अदालतहरुमा भर्ने काम लामो समय देखि चलिरहेको छ।
सन् २०१६ मा सर्वोच्च अदालतका तत्कालिन न्यायाधिश एण्टोनिन स्कालियाको मृत्यु भए पछि तत्कालिन राष्ट्रपति बाराक ओबामाले मेरिक गार्ल्याण्डलाइ न्यायाधिश नियुक्त गरे। तर सिनेटले नियुक्ति सदर गर्नु पर्ने नियम भएकोले तत्कालिन रिपब्लिकनको बहुमतमा रहेको सिनेटले नियुक्तिमा बहस नै गर्न मानेन।
मिच मेकोनल सिनेटका अध्यक्ष थिए जसले चुनावी वर्षमा नयाँ नियुक्ति गर्न मिल्दैन भनेर नियुक्ति रोके । तर पछि उनैले २०२० मा फेरि खालि भएको अर्को स्थानमा नयाँ राष्ट्रपति आउनु भन्दा एक महिना अघि मात्र नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएर ट्रम्पको चार वर्षको कार्यकालमा सर्बोच्च अदालतमा तीन जना न्यायधिश नियुक्त गरे।
अहिले सर्वोच्च अदालतमा दक्षिणपन्थी झुकाव भएका न्यायधिशहरुको वर्चश्व छ। यसले अमेरिकाका धेरै सांस्कृतिक मुद्धाहरुलाई प्रभावित गरिरहेको छ। एकातिर अमेरिकी समाज झन् समावेशी हुँदैछ भने त्यसलाई आफ्नो नियन्त्रणमा राखिराख्न अनेकन प्रयास भैरहेका छन्। यसले अमेरिकाका दुइ वटा पार्टीहरुको दुरी निकै बढ्दै गएको छ। विवाह, बन्दुक, कर, धर्म, गर्भपतन जस्ता कुराहरुमा ठूलो विभाजन छ र त्यो हरेक दिन गहिरो हुदैछ।
हरेक मान्छे स्वतन्त्र हुन्छ भन्ने सिद्धान्त भए पनि त्यसलाई आफ्नो “फेथ” वा अन्य कुनै नाममा उनीहरुलाई फरक हेर्ने धार्मिक अतिवादले अमेरिकालाई झन् झन् कमजोर मात्र होइन त्यसको विरुद्धमा अर्को समूह लाग्दा व्यवस्थित गर्न नसक्ने खालको द्वन्द समेत हुने सम्भावना देखिन्छ। आशा गरौँ कुनै खालको अतिवादले समाज अघि बढ्दैन भन्ने कुरा सबैले बुझ्नेछन र अमेरिका त्यस्तो कुनै द्वन्दमा फस्ने छैन।