अमेरिकी राष्ट्रपतिमा अब भोट कसलाई दिने?
आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदै छ। असी वर्ष काटेका वर्तमान राष्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका डोनाल्ड ट्रम्प दुई वृद्ध उम्मेदवारहरू अमेरिकी जनतास सामु विकल्पको रूपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुई मध्ये एकलाई छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरूलाई छ। करिब ७० प्रतिशत अमेरिकनहरूले नचाहेको विकल्प हो यो।
तर दुइटामा एउटा रोज्नै पर्ने विकल्प बाँकी रहँदा भने एक जनालाई रोज्नै पर्ने हुन्छ। दुवै वृद्ध भएकोले यिनीहरूले गरेका काम र प्रतिबद्धता जनाएका कुराहरूकै आधारमा छान्नु सजिलो हुनेछ। दुवै जनाले एक कार्यकाल काम गरिसकेको हुनाले काम गरेको रेकर्ड पनि छदै छ। बजारी हावा र सामाजिक सञ्जालको अतिरञ्जनापूर्ण विषालु प्रतिक्रिया भन्दा तथ्य र डाटाहरू यी दुई बिचका काम र भविष्यका योजनाहरू बारे फरक छुट्टाउने आधार हुनसक्छ।
मेक्सिको सीमा समस्या :
१९८६ मा रोनाल्ड रेगनले ऐतिहासिक अध्यागमन कानुन पास गरे पछि अमेरिकामा कुनै कानुन पास भएको छैन। करिब ४ दशकको यो अवधिमा उक्त कानुन भुत्ते भैसकेको छ। शरणार्थी सम्बन्धी कानुन पुराना हुँदा नयाँ परिस्थिति अनुसार शरणार्थीहरूको व्यवस्थापन हुन सकेको छैन। कानुनमा सुधार नगरी सीमा नियन्त्रण हुन सक्दैन। तर सीमालाई राजनीतिक हतियार बनाउन यसलाई कहिल्यै समाधान गरिएको छैन।
विशेष गरी रिपब्लिकन पार्टीले यसलाई बढी प्रयोग गर्ने गरेको छ। तर उनीहरूले आफू सत्तामा हुँदा कहिल्यै पनि यो समस्या स्थायी रूपमा समाधान गर्न चाहेनन्। सन् २०१६ देखि २०१८ सम्म प्रतिनिधिसभामा रिपब्लिकन पार्टीकै बहुमत थियो भने राष्ट्रपति पनि डोनाल्ड ट्रम्प नै थिए। तर उनीहरूले त्यस तर्फ कुनै काम गरेनन्।
२०१६ को निर्वाचनमा सीमामा पर्खाल लगाउने र त्यो खर्च मेक्सिकोले तिर्ने भन्ने नारा लगाएका ट्रम्पले न त पर्खाल निर्माण गरे न त त्यो खर्च मेक्सिकोलाई नै तिराए। भूमिगत मार्ग निर्माण गरेर अमेरिका छिराउने दलालहरूलाई पर्खाल होइन अमेरिकामा दरिलो कानुन चाहिन्छ भन्ने सामान्य ज्ञान छैन भन्न नसकिए पनि यो नारा जीवित राखेर जनता बेवकुफ बनाएर चुनाव जित्ने रणनीति हो भन्नेमा कुनै दुई मत छैन।
हालै मात्र अमेरिकाको माथिल्लो सदन सिनेटबाट रिपब्लिकन र डेमोक्र्याटहरुले संयुक्त रूपमा एउटा कानुन पास गरेर पास गर्न तल्लो सदनमा पठाए। तर पूर्व राष्ट्रपति ट्रम्पले यो कानुन पास भएमा आफूले एउटा चुनावी नारा गुमाउने भन्दै प्रतिनिधिसभाका सदस्यहरूलाई पास नगर्न दबाब दिए। सभामुख माइक जोन्सनले त्यो कानुनलाई छलफलमा नै नल्याई तुहाइदिए। यो कानुन पास भएको भए सीमामा देखिएका धेरै समस्याहरू समाधान हुने थिए। अमेरिकाको शरणार्थी समस्या र सीमा समस्या हल हुने थियो तर रिपब्लिकन र ट्रम्पले यसलाई नाराको रूपमा जीवित राख्नको लागि यो कानुन पास गरेनन्।
अन्तर्राष्ट्रिय सम्बन्ध :
अहिलेको गाउँ जस्तो बन्दै गएको विश्वमा अन्तर्राष्ट्रिय सम्बन्ध निकै महत्त्वपूर्ण हुन्छ। विश्वका जल्दा बल्दा समस्याहरूसँग जुध्न त्यसलाई गहिरो गरी बुझेको र हरेक राष्ट्रहरूका आन्तरिक अवस्थाहरूको बारेमा बुझ्न सक्ने नेतृत्व अमेरिकामा हुनुपर्छ। नेटो लगायत थुप्रै अन्तर्राष्ट्रिय सङ्गठनहरू र विभिन्न देशहरूसँग अमेरिका मात्र होइन विश्वकै स्थिरताको लागि काम गर्न सक्ने बुद्धिमान नेतृत्व अहिलेको आवश्यकता हो। विगत करिब ८० वर्ष देखिको विश्वको स्थिरताको निरन्तरताको लागि अमेरिकाको सुझबुझ पूर्ण नेतृत्व प्रमुख हुन्छ।
ट्रम्पका अभिव्यक्ति सुन्ने र त्यसलाई अलिकति पनि मनन गर्न सक्ने चेतना भएकाको लागि भने उनी यो स्तरको शक्तिको नेतृत्व गर्न सक्षम छैनन् भन्ने बुझ्न कठिन छैन। नेटो विरोधी उनका अभिव्यक्ति र तानाशाहहरु प्रतिको उनको उदारताले उनी अमेरिकालाई स्वतन्त्र र खुल्ला विश्वको रक्षकको रूपमा होइन तानाशाही बाटोमा लैजान चाहन्छन् भन्ने प्रस्ट हुन्छ। देशहरू बिच हुने खटपटमा पनि ट्रम्पको चेतना स्तर र प्रतिक्रियात्मक मनोदशा हेर्दा निकै सानो कुरामा पनि अमेरिका द्वन्द्वमा होमिने खतरा देखिन्छ। यति अस्थिर मनोदशा भएको व्यक्तिको हातमा न्युक्लियर हतियारको बटन हुनु खतरनाक हुनसक्छ।
यस हिसाबले हेर्दा वर्तमान राष्ट्रपति बाइडेन नै सही पात्र हुनसक्छन। व्यक्तिको हैकमले भन्दा प्रणाली र राज्यका विभिन्न अङ्गहरूले काम गर्ने भएकोले उनको शान्त कूटनीतिक स्वभाव, अनुभव र विश्व बुझेको व्यक्तिको रूपमा यस्ता अप्ठेरा अवस्थाहरूमा सही निर्णय गर्न सक्छन्। अफगानिस्तानको २० वर्ष लामी घातक युद्ध समाप्त गरेर उनले वर्तमान राष्ट्रपति जो बाइडेनले अनाहक युद्धहरूमा अमेरिकाको धेरै रगत बग्नबाट जोगाएका छन्। यसले अहिलेको निकै जटिल अन्तर्राष्ट्रिय परिवेशको लागि उपयुक्त पात्र हुन्।
मौलिक अधिकार र प्रजातन्त्र:
यति बेला अमेरिका विभिन्न खाले अतिवादबाट गुज्रिरहेको छ। अति दक्षिणपन्थी अतिवादको नेतृत्व स्वयम् डोनाल्ड ट्रम्पले गर्छन्। आफूले जितेमा एक दिनको लागि तानाशाह हुने चाहना व्यक्त गरेका ट्रम्पले आफ्ना विरोधीहरूलाई जेल हाल्ने कुरा खुल्लमखुल्ला भनिरहेका छन्। अमेरिकी प्रजातन्त्रका खम्बाहरूलाई डीप स्टेटको संज्ञा दिँदै आएका ट्रम्पले ती एजेन्सीहरूलाई भत्काउने घोषणा गरिसकेका छन्। बहुसङ्ख्यक श्वेतहरू र क्रिस्चियनहरुको आधिपत्य हुनुपर्ने धारणा गर्ने अतिवादी समूहहरूले ट्रम्पलाई समर्थन गरेका छन् भने ट्रम्पले उनीहरूको आलोचना गर्दैनन्।
ट्रम्पले नियुक्त गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले पचास वर्ष पुरानो रो र वेडको नजिर खारेज गर्दै गर्भपतनलाई स्थानीय राज्यमा सुम्पे पछि गर्भपतनमा अभिभावक भन्दा नेता र सरकारी कर्मचारी हाबी हुने अवस्था सिर्जना भएको छ। महिलाको ज्यान जोखिममा पर्दा होस् वा विकलाङ्ग बच्चा जन्मिने परिस्थितिमा पनि गर्भपतनलाई गैर कानुनी बनाउने काम रिपब्लिकनले नेतृत्व गरिरहेका राज्यहरूमा भइरहेको जसमा ट्रम्पले आफ्नो कारण भएको भनिरहेका छन्। यसले महिलाको आफ्नो बच्चाको, परिवारको र आफ्नो स्वास्थ्यको नियन्त्रण अरूलाई सुम्पनु पर्ने अवस्था सिर्जना भएको छ। त्यति मात्र नभएर निर्वाचन हार्दा पनि उनले सत्ता हस्तान्तरण गर्न नमानेको नजिर हामीसामु छदै छ।
यस मामिलामा वर्तमान राष्ट्रपति जो बाइडेन निकै परिपक्व देखिन्छन्। मानवअधिकार, अल्पमतको अधिकार बारेमा उनी निकै सकारात्मक छन्। महिलाले आफ्नो शरीरमाथि आफैले नियन्त्रण र नियमन गर्न पाउनु पर्छ भन्ने उनको दृढ विश्वास देखिन्छ। बाइडेनले जित वा हारलाई सहजै स्वीकार गर्छन् र शान्तिपूर्ण सत्ता हस्तान्तरणमा विश्वास गर्छन्। प्रजातन्त्रको साँचो बाइडेनलाइ बुझाउन अप्ठेरो मान्नु पर्ने देखिन्न।
शालीनता, भद्रता र चरित्र :
अमेरिकाको नेतृत्व गर्ने व्यक्ति आदर्श हुनुपर्छ। उसमा अरू प्रति सहानुभूति र प्रेम हुनपर्छ। उसले आफूसँग असहमत हुनेहरू प्रति पनि मानवीय व्यवहार गर्नुपर्छ। सबै बाबु आमाले आफ्ना छोराछोरी वा सबै आफ्नो छोराछोरीले आफ्ना बाबु आमा अमेरिकाको राष्ट्रपति जस्तै शालीन, भद्र र चरित्र वान बनोस् भन्ने उदाहरणीय व्यक्ति हुनुपर्छ। आफ्नो शिरमा सजाउने कुरा पक्कै शुद्ध र पवित्र हुनुपर्छ।
ट्रम्पको हकमा यो लागु हुन सक्दैन। उनी चारित्रिक रूपमा भ्रष्ट, आर्थिक रूपमा भ्रष्ट र अभिव्यक्तिमा छुद्र छन्। साना कुराहरूमा प्रतिक्रिया दिइहाल्ने र निकै तल्लो स्तरको भाषा प्रयोग गर्ने ट्रम्प कुनै बालबालिकाहरूका लागि आदर्श व्यक्ति बन्न लायक छैनन्। अरू प्रति सहानुभूतिको कुनै भावना उनीमा पाइन्न। पैसा हुनेले जे गरे पनि जायज हुन्छ भन्ने ट्रम्प ९१ वटा विभिन्न आपराधिक मुद्दा खेपिरहेका छन्। आफ्नी श्रीमती सुत्केरी भएको बेलामा पोर्न स्टारसँग सम्बन्ध राखेको र त्यसलाई लुकाउन प्रपञ्च गरेको आरोपमा उनी विरुद्ध लागेको मुद्दाको सुनुवाइ अहिले न्यु योर्कमा भइरहेको छ।
तर वर्तमान राष्ट्रपति जो बाइडेन यसमा पनि उपयुक्त पात्र हुन्। युद्धमा आफ्नो छोरा गुमाएका बाइडेन दुख र सुख दुवै सँग परिचित छन्। हुनेखानेको भन्दा भए खानेको पक्षमा उनी बढी गम्भीर छन्। गरिव र निमुखाहरूको पक्षमा उनले सधैँ आवाज उठाउँछन्। स्वास्थ्य बिमा सबैले सजिलो र सर्वसुलभ रूपमा पाउनु पर्छ र अमेरिका जस्तो देशमा उपचार नपाएर वा खान नपाएर मान्छे मर्न हुन्न भन्ने उनको भावना देखिन्छ। कर गरिव र मध्यमवर्गलाई होइन धनीहरूलाई बढी लगाउनु पर्छ भन्ने बाइडेनको चाहना देखिन्छ। आप्रवासीहरूकै कारण अमेरिका बनेको र उनीहरूलाई सम्मान गर्नु पर्छ भन्ने बाइडेनको भनाइ छ। तर ट्रम्पले आप्रवासीहरूलाई अमेरिकाको रगत विष बनाएको र अमेरिकालाई अपराधीकरण गरेको आरोप लगाउने गरेका छन्।
यी र यस्ता धेरै कुराहरू छन् जसले आगामी निर्वाचनमा उम्मेदवार रोज्ने सजिलो आधार हुनेछ। बजारी हल्ला र आवेगमा कसैले पनि मतदान गर्नु आफ्नै खुट्टामा बन्चरो हाल्नु सरह हुनेछ। अमेरिका कसरी बन्यो र यो कसरी संवृद्ध बन्यो भन्ने इतिहास नहेरी “अमेरिका फस्ट” भन्ने नाराको भ्रममा परी मतदान गर्ने हो भने अमेरिका तानाशाही दिशामा झन् अघि बढ्ने र अन्ततः यसले अमेरिका मात्र होइन विश्वको अहिलेको सन्तुलन समेत भताभुङ्ग हुने अवस्था सिर्जना हुनेछ। त्यो गन्जागोलमा को कहाँ पुग्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन।
त्यसैले आगामी नोभेम्बरको निर्वाचन निकै महत्त्वपूर्ण छ। यसमा विवेक प्रयोग भयो भने मात्र अमेरिका र विश्वकै आगामी यात्रा सहज हुनेछ। तर यसमा आवेग र हल्लाको पछि लागेर गलत ठाउँमा मतदान गरियो भने यही भन्नु पर्ने हुन्छ,” भिर बाट लडेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न।