पत्रकारितामा समाचार धर्मिताका कुरा
नारायण भण्डारी
त्यो फलानो त अचम्मै ज्याद्रो छ । जे देख्यो त्यही ठ्याक्कै लेखिहाल्छ । कुरा त मिलाएर बुझ्नु पर्ने थियो ।त्यो कुरो बुझ्ने मान्छे होइन रहेछ । हामीले जे भन्छौ र जति भन्छौ त्यति मात्र बुझिदिए पुगिहाल्थ्यो । निकै सत्यवादी, यथार्थवादी हु भन्दो रहेछ ।
एउटा सञ्चारकर्मी जसले पेटका लागि मात्र पत्रकारिता गर्दैन र नामका लागि पनि गर्दैन ।मात्र समाचार धर्मिताका लागि आफ्नो ब्रम्हले देखेको विवेकले लेख्छ उसलाई समाचारका स्रोतहरूले पटक पटक गर्ने टिप्पणी हो त्यो माथिका पंत्ति।
हो मान्छे स्वभावले लोभी छ,कामी छ,भोगी छ स्वार्थी छ । तर जसले यी स्वभावजन्य कुरालाई मनन गरेर यस्ता विकारबाट टाढा हुन्छ र ती स्वार्थ सिद्ध गर्न आफ्नो कलमलाई वन्दगी राख्दैन उसलाई समाजमा सधैँ सम्मान मिलेकै हुन्छ ।जसले कलमलाई विवेक सँग जोडेको छ र आफ्नो लेखनीय धर्म निभाएको छ त्यही समाचार धर्मिता जीवन शैली बनेर जोडिएको हुन्छ । त्यो धर्म एक दिनको लागि होइन त्यसले जीवनभर कर्म गराई रहन्छ ।
सञ्चार जगत् आधुनिक समाजको एउटा यस्तो सशक्त क्षेत्र हो जहाँ विवेकले आँखा चिम्लियो बा चिम्ल्याउन सकियो भने सुखले जीवनको रोटीको व्यवस्थापन हुन्छ । हाम्रो समाजमा वेला बेला त्यस्ता पात्र र प्रवृत्तिले निकै चर्चा पनि पाइरहेकै हुन्छन् ।
हाम्रो देशको कुरा गर्ने हो भने केही सञ्चार माध्यममा कलम चलाउने बाहेक प्राय सबै कलमजीवीहरुले अभावकै जिन्दगी बाँचेका छन् । त्यो अनुभव गर्न मैले पनि पाएको छु । त्यसैले पेटको लागि पत्रकारिता गर्नेहरू पनि सबै जना समाचार श्रोतको कुरा बुझिदिएर बाँचेका हुन्छन् भन्न खोजिएको होइन ।
त्यसैले पत्रकारिताको आयाम मानिएको छ लेखनीय धर्म र समाचार धर्मितालाई । यी विशिष्ट गुणले आजको विश्वमा सञ्चार क्षेत्रको उचाइ निकै माथि पुर्याएको छ । सञ्चार जगतको यति मान प्रतिष्ठा र विश्वसनीयता हुनको कारण पनि यही हो भन्ने लाग्छ ।
समाचार लेख्नेको जस्तै समाचार श्रोतको पनि बुझाइको स्तर नापिनु अपरिहार्य छ । समाचारमा स्रोतको भूमिका निकै महत्त्वपूर्ण मानिएको छ । समाचारमा स्रोतको सकारात्मक र नकारात्मक प्रभाव परेको हुन्छ । कतिपय स्थानमा हाम्रो समाजका समाचारका श्रोतहरू अहिले पनि समाचार लेखाउन सक्षम छन् ।
जसरी उनीहरूले चाहे, जे जे भन्न र भनाउन चाहे त्यसरी उनीहरू सफल हुनु र त्यो परिवेश देखिनु एउटा लज्जास्पद घटना हो र यदाकदा यस्तो भइरहन्छ । यसै कारण समाचार धर्मिताको कुरा पत्रकारितामा आधारभूत ज्ञानको रूपमा पढाइएको हो । हुन त आफूलाई चाहिएको जसरी समाचार लेखाउन सक्नेहरू अहिले पनि हाम्रो समाजका उच्च दर्जाका मानिस हुन । तिनका अगाडि सञ्चार क्षेत्रको महत्त्व, उचाइ, जिम्मेवारी, प्रगति र भूमिकाको कुनै अर्थ रहँदैन।
घुस दिने र लिने दुवै समाजका शत्रु हुन भने जस्तै कसैलाई चाहिए जस्तो समाचार लेख्ने र लेखाउनेलाई पनि हाम्रो समाजका शत्रु नै मान्नु पर्दछ । लेखाइएको कुरा समाचार त हुन सक्दैन तर समाचारको विषयमा ज्ञान नभएको समाजमा ती समाचार जस्तै बनेर आईरहन्छन । त्यस्तै परिपाठ मिलाएर प्रकृया र तजबिज मिलाएर यस्ता स्तरका पत्रकारिता हाम्रो समाजमा प्रशस्तै चलिरहेको छ । त्यसैले यो विषयको सत्य तथ्य पत्ता लगाएर छिनोफानो गर्न जटिल छ ।
त्यसैले मलाई कहिलेकहीँ आफैलाई प्रश्न गर्न मन लाग्छ, समाचार किन लेखिन्छ, किन लेख्नु पर्छ ? यसको उत्तर पत्रकारिता विज्ञानले दिएको छ तर जुन उद्देश्य र उत्तर अहिले अध्ययनको विषय बनिरहेको छ त्यो वास्तविक व्यवहारमा देखिँदैन त्यसैले पनि किन लेख्ने भन्ने प्रश्न आइरहन्छ ।
समाचारमा तपसिलका विधिवत् प्रस्तुति पाठकलाई सत्यको धरातलमा उभिन सक्ने बनाउनु हो तर लेखाइएको समाचार पढेर बस्नेहरूलाई ब्रम्हले देखेको कुरा विवेकले पस्कँदा सुपाच्य नहुन पनि हुन सक्छ । जसले पत्रकारिताको यो मर्म, भावना र धर्मलाई सम्मान गर्दै कलम चलाउँछ उसले सत्यको खोजी गर्दै इमानको पत्रकारिता गर्छ । यो पेसाको धर्म यो हो भनेर थाहा नभएका मानिसले कुनै असामाजिक तत्त्वका स्वार्थ सिद्धि गराउन पत्रकारिताको धज्जी उडाउँछ भने त्यो समाजको कलङ्क मात्र हो ।
जदौ