एक वर्ष अगाडि नै बानामा चुनाव लाग्यो
बाल्टिमोर,मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) का सल्लाहकार जितेन (जीतेन्द्र) गुरुङले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। बानाको चुनाव अर्को वर्ष मार्चमा हुने छ। लगभग एक वर्ष अगाडि देखि नै गुरुङले भोट माग्न थालेका हुन्।
संस्थापन पक्षले साधारण सभा पछि मात्र त्यस बारेमा रणनीति बताउने भनेको छ। बानाको साधारण सभा मे १९ तारिख आइतबार बाल्टिमोरमा हुने छ।
‘म सानै देखि सामाजिक काम गर्दै आएको हुँ, समाज सेवामा मेरो रुचि हो, नेपाल देखि नै विभिन्न संघ संस्थामा बसेर काम गर्दै आइयो।’ समाज टाइम्स सँग गुरुङले भने, ‘यहाँ आएर पनि आफूले सक्ने समय दिँदै आएको छु, आफूले जानेको अनुभव विभिन्न संस्थामा रहेर सेयर गर्ने गरेको छु। सामाजिक काम गर्ने हुटहुटीका कारण मेरो उम्मेदवारी रहन्छ।’
पर्वत पैंयु गाउँपालिकाका ३८ वर्षीय गुरुङ पछिल्लो नौ वर्ष देखि श्रीमती र छोरा सँगै बाल्टिमोरमा बस्दै आएका छन्।
‘म अहिले बानामा ट्रस्टी र सल्लाहकार छु, बाना यसै पनि राम्रो छ यसलाई अझै सबैको साझा बनाउनका लागि र यहाँको समाजले पनि तपाईँको आवश्यकता छ है भनेको हुँदा सबैको सल्लाह सुझावले म तयार भएको हुँ।’ व्यवसायी गुरुङले भने।
गुरुङले आफू सबैको साझा उम्मेदवार हुने दाबी गरे। ‘समाजमा सबै सँग राम्रो भएर हिँडिरहेको छु, समाजमा परेको बेला काम गरिरहेकै छु, सबैले तिम्रो आवश्यकता छ है भन्ने सन्देश पाएको छु राम्रो छ।’ उनले भने, ‘मलाई सबैको समर्थन हुन्छ। माया पाउँछु।
नेपाली कांग्रेस निकट गुरुङले आफूले फिर्ता लिने गरी उम्मेदवारी घोषणा नगरेको बताए। ‘यो कुनै पद बार्गेनिङका लागि होइन, फिर्ता लिने गरेर होइन, उम्मेदवार पक्का हो।’ उनले भने।
संस्थापन पक्ष पर्ख र हेर
संस्थापन इतर पक्षले चुनावी अभियान तीव्र पारे पनि संस्थापन पक्ष भने पर्ख र हेरको अवस्थामा रहेको छ। वर्तमान अध्यक्ष सुबोध विलास पन्तले सबै कुरा अहिले नै भनिहाल्न नहुने बताए। उनी दोस्रो कार्यकालमा कार्यरत छन्।
तपाई ह्याट्रिक गर्ने हो भन्ने समाज टाइम्सको प्रश्नमा उनले परिस्थिति हेरेर निर्णय गर्ने बताए।
‘समय धेरै छ, राम्रो मान्छे आउन पर्यो, राम्रो मान्छे आएन संस्था नै धराशायी हुने हो भने उमेरले पनि म बढी भएको छैन।’ पन्तले भने, ‘सके सम्म म तेस्रो पटकको लाइनमा छैन तर संस्था नै बिग्रियो मिलाउन नसक्ने मान्छे आए भने त्यो बेलामा सोच्नु पर्ने हुन्छ।’
पन्तले जीतेन गुरुङले अध्यक्षको दाबी गर्ने बेला नभएको बताए। ‘अहिले म कसैलाई पनि इन्ड्रोर्स गर्दिन, यसले समाज भाँडिन्छ, संस्थापन पक्षमा विवाद हुदैन् अर्को पक्ष भनेको एनआरएनए तिर हारेकाहरू आउन खोजेका हुन तीनको गुन्जयास नै हुँदैन, जीतेन्द्रको बेला भएको छैन।’
उनले संस्थापन पक्षमा उम्मेदवारको कमी नभएको बताए। ‘उम्मेदवारको कमी छैन, लक्ष्मी भारती, भीम केसी, दमन विक्रम शाह पनि छन्, यो पटक हामीमा विवाद हुँदैन जीतेन पनि भनेको नमान्ने होइन महासचिव सागर घिमिरेकै पनि भन्न सकिँदैन चुनाव आए पछि तात्छन् मान्छेहरू।’ पन्तले भने, ‘जनक पौडेलकै सम्भावना छ, विवाद नभई मिलाउने हो, त्यो हो कुरा।’
पन्तले आफूले संस्थामा पैसा आउने वातावरण बनाइदिएको र धेरैको चासो भएको दाबी गरे।
वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले आफूले टिमको निर्णय कुर्ने बताइन्। ‘अहिले त अलिक छिटो भएन र?’ तपाई अब अध्यक्षको उम्मेदवार हो? भन्ने समाज टाइम्सको प्रश्नमा भारतीले प्रतिप्रश्न गरिन्।
‘हुन त हामीले बाहिर कुराहरू सुनिरहेका छौ, टिम सँग सल्लाह गरेर कस्तो प्रतिक्रिया आउँछ सकारात्मक जवाफ आयो भने अध्यक्ष हुने इच्छा छ।’ उनले भनिन्, ‘व्यक्तिगत रूपमा चुनावको कुरा हामीले टिममा गरेका छैनौ। बाहिर मान्छेले सोध्दा मेरै पालो हो भन्ने गरेको छु।’
भारतीले आफ्नो एक्लो निर्णय प्रभावकारी नहुने स्वीकार गरिन्। ‘मेरो इच्छा छ तर टिममा काम गरिरहेको छु भोली पनि टिम नै चाहिन्छ, बानामा उठ्छु म एक्लै गर्छु भनेर खास सम्भव पनि हुँदैन।’
संस्थापन पक्ष भारती सँग ढुक्क हुन सकेको छैन। किनकि अघिल्लो पटक उनी हिरा गुरुङ समूहबाट उम्मेदवार भएकी थिइन्। भारतीले पन्त समूहका अनिल गोदारलाई हराएकी थिइन।
अर्को पाटो भारतीले साथी बाल्टिमोरका निवर्तमान अध्यक्ष रमेश भट्टलाई भाइ टिका लगाउँछिन्। भट्ट र बाना संस्थापनको सम्बन्ध सुमधुर छैन। हाल राष्ट्रिय स्वतन्त्र पार्टीको अमेरिका संयोजक रहेका भट्टले अघिल्लो पटकको चुनावमा हिरा गुरुङ टिमलाई समर्थन गरेका थिए।
बानामा प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष प्रभु थापा लगायतको प्रभाव रहँदै आएको छ। उनी बाल्टिमोरका बासिन्दा हुन्। प्रवासी मञ्च नेकपा एमाले निकट संस्था हो। भारतीलाई अध्यक्ष बनाउँदा भट्ट तर्फ बढी लोयल हुने हुन की भन्ने त्रास संस्थापन पक्षमा पाइन्छ।
त्यसैले संस्थापन पक्षले हालका उपाध्यक्ष भीम केसीलाई पनि तयारी अवस्थामा राखेको छ। केसीले म्याग्दी समाजको अध्यक्ष पदक छोडेका थिए। उनी म्याग्दी समाजको उपाध्यक्ष थिए।
भारतीले आफू यस बारेमा जानकार रहेको बताइन्। ‘यो मेरा लागि नौलो कुरा होइन।’ उनले भनिन्, ‘हिजो को कुन समूहमा थियो भन्दा पनि अहिले कसरी काम भइरहेको छ भन्ने महत्त्वपूर्ण हुन्छ की?’ भारतीले प्रश्न गरिन्।
उनले आफूलाई कुनै व्यक्ति वा दल सँग जोड्न नहुने पनि बताइन्। ‘जन्मदिने बुबा आमा त अर्को पार्टीमा हुनु हुन्छ, मेरो बुबा राप्रपा हो, पहिला प्रधानपञ्च भइसकेको मान्छे हो, म खासै सक्रिय नभए पनि पहिला नेविसंघमा नजिक रहेको मान्छे हो।’ भारतीले भनिन्, ‘टेक्निकल्ली म कांग्रेस हो त्यो पार्टीगत हिसाबले एस्क्युज हो, तर मेरो व्यवहार मैले बानालाई गरेको कामले कुनै पार्टीको भन्ने हुँदैन।’
रमेश र उहाँहरूको टसलले तपाईँलाई विश्वास गर्लान् भन्ने प्रश्नमा भारतीले भनिन्, ‘रमेशको कारणले अप्ठेरो नपार्ला, त्यो बारेमा म जानकार छु।’
एक कार्यकाल कोषाध्यक्षको रूपमा बानामा काम गरिसकेकी भारतीले आफ्नो कामको मूल्याङ्कन हुनु पर्नेमा जोड दिइन्।
‘संस्थापन पक्षले सपोर्ट गर्ने की नगर्ने भन्ने कुरा इतिहास हेर्दा उहाँहरूको लास्ट मिनेट सम्म खासै थाहा हुने देखिएको छैन।’ भारतीले भनिन्, ‘म धेरै राजनीति बुझ्दिन, म त्यो पृष्ठभूमिको पनि होइन, पहिला पनि दुई वर्ष बानालाई दिएको हो, यस पटक तीन वर्ष हुन्छ।’
उनले आफुमा नेतृत्व क्षमता रहेको बताइन्। ‘अहिले सम्म मैले गरेको कामले नेतृत्व लिन सक्छु भन्ने विश्वास छ, तर कोही कसैले पनि सपोर्ट गरेन भने म एक्लै गरेर त हुँदैन, अर्गनाइजेशन भनेको टिम भएर चल्नु पर्छ, भन्ने कुरा हो।’
सिन्धुपाल्चोक जन्म घर र ललितपुरको गोरावादीकी भारती परिवार सँगै बाल्टिमोरमा बस्छिन्। ‘म आइटी क्षेत्रमा काम गर्छु मेरो श्रीमानको व्यवसाय छ, मेरा बच्चाहरू हुर्किसकेका छन् म समय दिन सक्छु।’ भारतीले भनिन्।
बानाका वर्तमान उपाध्यक्ष भीम केसीले आफू भावी अध्यक्षको उम्मेदवार भएको बताए। उनले दुवै संस्थामा समय दिन गाह्रो हुने भएकाले म्याग्दी समाजमा कार्यकारी पदमा विश्राम लिएको बताए। ‘बानाका कामलाई निरन्तरता दिन मेरो उम्मेदवारी हो।’ केसीले भने।
‘बानाको सदस्य, कोषाध्यक्ष अहिले उपाध्यक्ष छु, अहिले खेलकुद संयोजक हुँ, युवालाई जोडेको छु, बानाले अहिले पनि राम्रो गरिरहेको र यसलाई निरन्तरता दिनका लागि मेरो उम्मेदवारी हुने छ।’ समाज टाइम्स सँगको कुराकानीमा केसीले भने।
उनले नेतृत्व सर्वसम्वत छानिने समेत दाबी गरे। ‘हामी सर्वसम्मतको पक्षमा छौ, त्यो भएन भने पनि संस्थापन पक्षबाट एक जना उम्मेदवार हुन्छ।’
बाना अमेरिकामा क्रियाली नेपाली समुदायको संस्था मध्ये क्रियाशिलमा पर्छ।