डा.गोविन्द रिजालको निधनले भुटानी समूदाय शोकमा

पेन्सिल्भेनिया । कीर्तिपुर काठमाडौंमा भएको दुर्घटनामा निधन भएका डा. गोविन्द रिजालप्रति ह्यारिसबर्गमा रहेका भुटानी समुदायले शोक व्यक्त गरेका छन् ।
प्राध्यापक डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संकायका आंशिक प्राध्यापक हुन । उनको रत्नपार्क कीर्तिपुर चल्ने यात्रुबाक बस दुर्घटनामा परेर निधन भएको हो ।
भुटनिज कम्युनिटी इन ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै रिजालको निधनले अपुरणीय क्षति पुगेको बताएका छन् । ५१ वर्षिय रिजाल दक्षिणी भुटानको लोद्राईमा जन्मिएका थिए ।
अध्यक्ष निरौलाले डा. रिजालले सानै उमेरदेखि नै असाधारण बौद्धिकता देखाउनुभयो, जसले शिक्षा र सामुदायिक सेवामा अमिट छाप छोडेका बताउँदै अनगिन्ती भुटानी, नेपाली र विश्वभरका व्यक्तिहरूका लागि प्रेरणाको ज्योतिको रूपमा सेवा गरेका उल्लेख गरेका छन् ।
रिजाल भुटानी समूदायमा एक कुशल लेखक र भाषाविद्, अनुसन्धानकर्ता, सल्लाहकार, मानव अधिकार अधिवक्ताको रूपमा परिचित थिए ।
उनका पुस्तकहरू, धेरै अनुसन्धान पत्रहरू र विश्लेषणात्मक लेखहरू प्रकाशित छन् भने बागवानी वैज्ञानिक र भुटानको कथित सकल राष्ट्रिय खुशी एजेन्डाको प्रखर आलोचकको रूपमा अन्तर्राष्ट्रिय जगतमा पनि अमिट छाप बनाएका थिए ।
डा. रिजालको असामयिक प्रस्थानले भुटानी डायस्पोरामा गहिरो शून्यता छाडेको बताउँदै युवा र वृद्धको हृदय छोएको छ र मानव अस्तित्वको कमजोरीलाई उजागर गरेको पनि अध्यक्ष निरौलाले उल्लेख गरेका छन् ।
डा. रिजालको निधनमा शोक व्यक्त गर्दा, उनको जीवनको कामबाट प्रेरणा लिएर, प्रतिकूलताको सामना गर्दै उनको लचिलोपनको अनुकरण गर्दै र अटल संकल्पका साथ हाम्रा सपनाहरू पछ्याउँदै सम्झनालाई सम्मान गर्न पनि अपिल गरेका छन् । मे ५ तारिखमा निधन भएका डा. रिजालको वुधवार मे ८ तारिखमा पशुपतिमा अन्त्यष्टि गरिएको छ ।