पोखरामा यति विमान दुर्घटना पीडितका लागि एनआरएनए अमेरिका (लम्साल समुह) ले उठाएको चन्दा खोई ?
पेन्सिलभेनिया,अमेरिका / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरको विमान दुर्घटना भएको पनि ढेड महिना नाघेको छ।
चालक दलका चार सदस्य सहित ७२ जना रहेको विमान जनवरी १५ तारिक सेति नदिको खोचमा खसेको थियो। यो नेपालको हवाई इतिहासमा आन्तरिक तर्फ सबै भन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो।
यसै दुर्घटनामा निधन भएकाहरुका परिवारका लागि भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका (सुर्य लम्साल समुह) ले हतार हतार चन्दा संकलन शुरु गरेको थियो।
विमान दुर्घटनामा परेकाहरुको परिवारलाई वीमा कम्पनीले नै क्षतिपूर्ति दिने भन्दै चन्दा उठाइएको बारेमा सोही समय पनि प्रश्न उठेको थियो।
तर घटना घटेको साढे दुई महिना भन्दा बढी समय हुदाँ पनि लम्साल समुहले अहिले सम्म कति रकम उठ्यो भन्ने सार्वजनिक गरेको छैन्। नत त्यो रकम कहाँ छ भन्नेमा नै कुनै जानकारी दिइएको छ।
समाज टाइम्सले विभिन्न पदाधिकारीहरुलाई पटक पटक मौखिक तथा लिखित रुपमा जानकारी माग्दा समेत त्यसबारेमा प्रस्टाउन उनीहरुले अस्वीकार गरेका छन्।
मानवीय संवेदनाका विषयमा एनआरएनए जस्तो संस्थाको लोगो प्रयोग गरेर उठाइएको चन्दा पनि गोप्य राखिएको छ।
अहिले पनि एनआरएन अमेरिका सुर्य लम्साल समुहको आधिकारिक वेव साईडमा विमान दुर्घटना पीडितका लागि भनेर चन्दा संकलन कार्य जारी नै राखिएको छ।
तर रोचक कुरा कुन कुन व्यक्तिले कति कति रकम दिए त्यो भने सर्वसाधरणले हेर्न नमिल्ने बनाइएको छ। (चन्दा आह्वान गरिएको लिङ्कमा जान यहाँ हेर्नु होस।)
अध्यक्ष सुर्य लम्साल समाज टाइम्सको पटक पटकको प्रयासमा पनि सम्पर्कमा नै आउन चाहेनन्। यस्तै सो समुहका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का उपाध्यक्ष बी आर लामाले यसबारेमा आफुलाई कुनै जानकारी नहुने भएकाले सुर्य लम्साललाई नै सोध्न भन्दै पन्छिए।
जबकी सुर्य सम्लासले गत जनवरीमा चन्दा आह्वान गरे लगत्तै एनआरएनए अमेरिका अध्यक्ष बुद्दि सुवेदीले संस्थाले कुनै चन्दा नउठाएको प्रष्टाएका थिए। सो समय बी आर लामा, सुर्य लम्सालको बचाउ गर्दै बुद्दि सुवेदी सँग जुहारी खेल्न पुगेका थिए।
यसै गरि यो समुहका अमेरिका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले पनि चन्दा संकलन एनसीसीले गरेको र त्यसबारेमा आफुलाई औपचारिक जानकारी नहुने बताए।
‘हिसाव त सार्वजनिक गर्नै पर्छ के भएको रहेछ म बुझेर खवर गर्छु।’ दुई साता अगाडि समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा पोखरेलले भनेका थिए। तर त्यस पछि उनी पनि सम्पर्कमा आउन चाहेका छैनन्।
समाज टाइम्सले उपाध्यक्ष बी आर लामा, कृष्ण पोखरेल र सुर्य लम्साललाई संयुक्त रुपमा ग्रुप बनाएर एउटै प्रश्न सोधेको थियो विमान दुर्घटनाका लागि उठाएको चन्दा खोई। एक साता अगाडि सोधिएको प्रश्नको तीनै जनाले यो समाचार तयार पार्दा सम्म जवाफ दिएका छैनन्।
यो समुहको आइसीसीमा विनोद कुँवर अध्यक्ष छन् भने संरक्षकमा शेष घले रहेका छन्।
सुर्य लम्साल एनआरएनए अमेरिकाको अघिल्लो चुनावमा अध्यक्षमा पराजित भएका थिए। उनी पारदर्शिताको नारा सहित चुनावमा होमिएका थिए।
र यो पनि …