नेतृ सुकीको सहित म्यानमारमा ४० दल विघटन
म्यानमार । सैनिक शासन रहेको म्यानमारले त्यहाँका राजनीतिक दलहरु विघटन गरेको जनाएको छ । त्यसमा आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सहित ४० राजनीतिक दल रहेका छन् ।
सेनाको राजनीतिक वर्चस्व कायम राख्नका लागि हुन लागेको आम निर्वाचनका लागि तोकिएको समयसीमाभित्र यी दल दर्ता भएनन् । जनवरीको सुरुमा, म्यानमारको सेनाले आगामी चुनाव अघि नयाँ चुनावी कानून अन्तर्गत राजनीतिक दलहरूलाई दर्ता गर्न दुई महिनाको समय दिएको थियो। तर, सैन्य शासनको विरोध गर्नेहरूले भने निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताएका छन् ।
सोही क्रममा सु–कीको पार्टी एनएलडीले चुनाव नलड्ने घोषणा गरेको छ । उनले निर्वाचनलाई अवैधानिक घोषणा गरेका छन् । धेरै राजनीतिक नेता र राजनीतिक कार्यकर्ता पक्राउ परेका बेला एक पार्टी नेताले यो निर्वाचनलाई पटक्कै स्वीकार नगर्ने बताए ।
एनएलडीले नोभेम्बर २०२० मा भएको म्यानमारको संसदीय चुनाव जितेको थियो। तर तीन महिनाभन्दा कम समय नबित्दै आङ सान सुकीलाई म्यानमारको सेनाले ‘कू’ गरेर जेलमा हाल्यो। म्यानमारको सेनाले चुनावमा व्यापक धाँधली भएको भन्दै कूलाई जायज ठहरायो। यद्यपि, स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरूले कुनै ठूलो अनियमितता फेला पारेनन्।
गत दशकमा संसदीय सिट जितेका दर्जनौं दलहरूमध्ये एनएलडी पनि एक हो। यी दलहरू सेनाले २०२१ को सत्ता विद्रोह र उनीहरूका विपक्षीहरूमाथिको क्र्याकडाउनले नराम्ररी कमजोर बनाएका छन्। धेरै दलहरू चुनाव लड्न असमर्थ वा इच्छुक छैनन्। आलोचकहरूले आगामी निर्वाचनलाई प्रहसनको संज्ञा दिएका छन् । सुकीसहित उनको पार्टीका धेरै नेता अहिले जेलमा छन् ।
सोही क्रममा सु–कीको पार्टी विघटन भएपछि संयुक्त राष्ट्रसंघले म्यानमारमा प्रजातन्त्रको पुनःस्थापना गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पनि आङ सान सुकीलाई रिहा गर्न म्यानमारका सैनिक शासकहरूलाई आग्रह गरेका छन् । एनएलडी विघटनप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘मलाई लाग्छ यो लोकतन्त्रको पुनर्स्थापनाविरुद्धको अर्को कदम हो ।