सत्यनिरुपण विधेयकबारे कांग्रेस आफ्ना सांसदलाई दियो प्रशिक्षण
काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा विषय विज्ञसंग अन्तक्र्रिया गरी विधेयकबारे सांसदलाई जानकारी गराइएको प्रशिक्षणपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘माननीय ज्यूहरुलाई दृष्टिकोण बनाउने कुरामा पनि सहयोगी हुन सकोस् भनेर सबै विधेकमा छलफल गर्ने गरेका छौं । आज हामीले संसदको सभामा प्रस्तुत भएको संक्रमणकालीन न्याय सम्बन्धि विधिहरु बेपत्ता पारीएका व्यक्तिहरुको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेकमा छलफल गर्यौ ।’
उनले विधेयकको आवश्यकता र पार्टीको त्यसबारेको धारणामा प्रष्ट हुन सांसदहरुलाई सहयोग पुगोस भन्ने मान्यताका साथ प्रशिक्षण आयोजना गरिएको उनले बताए ।
अन्र्तक्रियामा दुवै आयोगका हालसम्म भएका र अब गर्नुुपर्ने काम, ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय कानून, अबको बाटो र कानूनमा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा विज्ञले जानकारी गराएका उनले बताए ।
यसअघि, सो विधेयकमाथि विचार गरियोस् भनी राखिएको प्रस्ताव प्रतिनिधिसभाबाट गत आइतबार स्वीकृत भएको छ ।