भुटानसँग नेपाल हारबाट जोगियो
काठमाडौं । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।
नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।
दशरथ रंगशालमा भएको खेलमा नेपालसँग भुटानले पहिलो पटक बराबरी खेलेको छ । नेपालले भुटनसँग खेलेको १३ खेलमा सबै खेलमा जित निकालेकोमा आज पहिलो पटक बराबरीमा रोकिएको छ ।
भुटानले नेपालविरुद्ध पहिलो हाफको १९ औं मिनेटका अग्रता बनाएको थियो । भुटानका लागि तेन्जिङ नोर्बुले गोल गरेका हुन् । उनले भुटानले पाएको कर्नरमा उत्कृष्ट हेडर गोल गरेका हुन् । उनको हेडरलाई नेपाली गोलरक्षक किरण चेम्जोङले जज गर्न असफल रहे ।
नेपालका प्रमुख खेलाडी अन्जन विष्टले खेलको ४८ औं मिनेटमा घाइते हुँदै मैदान छाडेका थिए । उनले हेड गर्ने क्रममा चोट बोक्दै मैदान छाडेका थिए । अन्जनले यसअघि चोटका कारण लाओस विरुद्धको खेल गुमाएका थिए ।
भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन् ।