केन्टकीमा दोहोर्याएर एनआरएनए अमेरिकाको सदस्यता वितरण अभियान
राजु तिमिल्सिना
केन्टकी,अमेरिका / उदेश्य एउटै, स्थान उही सहभागि मान्छे लगभग उनै तर एक साताको अन्तरमा दुई कार्यक्रम।
यो दृश्य हो, अमेरिकाको केन्टकी राज्यको लेजिङ्गटन शहरको। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सदस्यता वितरण अभियानको नाममा यहाँ एक साताको बीचमा दुई कार्यक्रम भए।
अघिल्लो साता (मार्च १९) एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सदस्यता वितरण कमिटीका संयोजक दिलु पराजुलिले सदस्यता वितरण अभियानको शुभाराम्भ केन्टकीबाट गरेर थिए। तर सो कार्यक्रमा केन्टकी च्याप्टरले बहिस्कार गर्यो।
कार्यक्रम सम्वन्धी शुरुवाती सूचनामा च्याप्टर पनि सहभागि हुने भनिएको थियो। तर पछि च्यापटर अध्यक्ष केशवराज लोहनीले विषेश कारण भन्दै कार्यक्रम स्थगित भएको अर्को सूचना निकाले
आफ्नो होम टाउनमा हुने कार्यक्रममा च्याप्टर नै सहभागि नहुने जान्दा जान्दै उपाध्यक्ष दिलुले कार्यक्रम गरेर छाडे।
मञ्चमा चल्यो उपाध्यक्ष र च्याप्टर अध्यक्ष बीच जुहारी
एनआरएनए अमेरिका उपाध्यक्ष तथा सदस्यता वितरण समिति संयोजकले आफ्नो होम टाउनमा राखेको कार्यक्रम बहिस्कार गरेको केन्टकी च्याप्टरले आइतवार (मार्च २६) सोही प्रायोजनका लागि कार्यक्रम गर्यो।
केन्टकी च्याप्टरको कार्यक्रममा प्रमुख अतिथि अमेरिका रिजनका डिआरसी पुरुषोत्तम बोहोरा थिए। यस्तै एनआरएनए अमेरिका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ, निवर्तमान बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे पनि कार्यक्रममा उपस्थित हुन मेरिल्याण्डको बाल्टिमोरबाट आइपुगेका थिए।
भलै अहिले सम्म औपचारिक रुपमा घोषणा त सकैले गरेका छैन तर अहिले सम्मको स्थितिमा दिलु, कृष्णजीवी र डा. अर्जुन भावी अध्यक्षका उमेदवार हुन्। उनीहरु तीनै जना एकै ठाँउमा भएको मञ्चमा उपाध्यक्ष दिलु र च्याप्टर अध्यक्ष केशवराज बीच जुहारी नै चल्यो।
‘धेरै भन्दा धेरै व्यक्ति एनआरएनएको सदस्यता बन है’ भन्नु पर्ने कार्यक्रमको मुल धेय हुनु पर्ने हो। तर केन्टकीका एनआरएन अभियन्तालाई साक्षी राखेर उनीहरुले एकले अर्कोलाई अर्घेलो देखाउन खोजे।
कार्यसमितिले कार्यक्रम गर्ने भन्दै निर्णय गरेर जानकारी बाहिर गइसके पछि पछि रद्द गरिएकोमा उपाध्यक्ष दिलुले आपत्ति जनाए। कार्यक्रम कुनै व्यक्ति विषेशका लागि भन्दा पनि अभियान भएको र त्यो बहिस्कार गर्नु राम्रो नभएको उनको धारणा थियो।
च्याप्टर अध्यक्ष केशबराज पनि के कम उनले पनि मञ्चबाटै जवाफ फर्काए। केन्द्रको सहमति लिएर, सबैलाई समेट्ने गरि कार्यक्रम गर्न समय अपुग भएकाले आफुहरु पछि हटेको केशबराजको भनाई थियो।
घर विगारेर एनआरएनएमा नलागौ
कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले घर विगारेर एनआरएनए अभियानमा नलाग्न सहभागिलाई सुझाव दिए। उनले यो अभियानमा आउन अगाडि परिवार सँग स्वीकृत लिन भने।
‘घर विगारेर समाज सेवा नगरौ, पहिला घर परिवार जोगाउ।’ कृष्णजीवीको अर्ति थियो।
कृष्णजीवी टेक्सासमा घरमै मृत फेला परेका एनआरएनका अभियन्ता कृष्ण लामिछानेको मलामी गएर केन्टकी पुगेका हुन्।
कृष्ण लामिछाने एनआरएनए अमेरिकाको पछिल्लो चुनावमा अध्यक्षमा पराजित भएका हुन्। लामिछानेकै समुहबाट कृष्णजीवी बरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए।
संस्थामा गलत मान्छे आउछन् : डा. अर्जुन
एनआरएन अमेरिकाका निवर्तमान बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडेले संघ संस्थामा साथीहरु बीचमा मेलमिलाप हुनु पर्नेमा जोड दिए।
संस्था बृहत हुदै गए पछि त्यसमा बिकृति आउने तर त्यो बिस्तारै ठिक हुदै जाने उनको भनाई थियो।
‘संस्था शुरुमा राम्रो चल्छ, जव फैलावट हुन्छ, धेरे थरीका मान्छे प्रवेस गर्छन, स्वार्थीहरु पनि आउछन अहिलेको अवस्था पनि त्यस्तै हो।’ आफ्नो मन्तब्य दिने क्रममा उनले भने,’सबैलाई मिलाएर लैजानु पर्छ, विस्तारै ट्रयाकमा आउछ।’
पूर्वराष्ट्रपति भण्डारीले एनआरएनए नागरिकता रोकेको होइन
कार्यक्रममा प्रमुख अतिथि एनआरएन अमेरिका क्षेत्रका डिआरसी पुरुषोत्तम बोहोराले दोहोरो नागरिकताको माग निरन्तर रहेको बताए।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक एनआरएनएका कारण फिर्ता नपाएको जिकिर गरे।
अहिले सम्म एनआरएनए नागरिकता प्राप्त नहुनुमा पूर्वराष्ट्रपतिलाई मात्र दोष दिन नहुने भन्दै बोहोराले भने,’हामी यो माग पुरा गराएरै छोड्छौ।’