नेपालको पहिलो खेल मलेसियासँग
काठमाडौैं । त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेभएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्ने तय भएको हो । उक्त खेल त्रिवि मैदानमा हुनेछ ।
प्रतियोगितामा १० देशको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरव, कतार र ओमान रहेका छन् ।
समूह ‘बी’ बाट बहराइन, कुवेत, सिंगापुर, हङकङ र संयुक्त अरव इमिरेट्स (युएई) रहेका छन् । प्रतियोगितामा कूल २४ खेल हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोली सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । शीर्ष तीनमा रहने टोलीले एसिया इमर्जिङ कप खेल्ने अवसर पाउनेछन् ।खेल वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने छ ।