साफ च्याम्पियनसिप जुन २१ देखि भारतमा
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति घोषणा गरिएको छ । यसै वर्षको जुन २१ तारिखदेखि भारतको कर्नाटकको बेंगलुरुमा हुने छ ।
आयोजक भारतीय फुटबल महासंघका अध्यक्ष कल्याण चाउबेले साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ तारिखसम्म आयोजना हुने बताए । खेलहरु कान्तिभरा स्टेडियममा हुने छ । साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता भारतमा गर्ने यसअघि नै निर्णय गरेको थियो । अब प्रतियोगितामा सहभागी टिमको ड्र पनि चाँडै सार्वजनिक हुने बताइएको छ ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिने छ र शीर्ष २ टिम सेमिफाइनल प्रवेश गर्ने छन् । यसअघि नेपाली टिम साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । साफको सर्वाधिक सफल टिम भारत हो । उसले अहिलेसम्म ८ पटक उपाधि जितेको छ ।