टिकटबाट उठेको पैसा खेलाडी काेषमा जम्मा गरिने
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार हुने नेपाल र युएईबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार उक्त घोषणा गरेको हो ।
आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । नेपाल र यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ । उनले भने,“ कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्यामा परेको खण्डमा उक्त कोषबाट खर्च गर्छौ, यसले खेलाडीलाई समस्या परेको बेला सहायता गर्न सहज हुन्छ । ”
नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० र गेटमा किन्दा १५० मा बेच्ने गरेको छ ।
लिग २ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ ।
नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौं दर्शकहरुको उपस्थिती रहको अनुमान गरिएको छ । अहिलेसम्म १० हजार भन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ ।
लिग टु मा नेपालको ३५ खेलबाट ३८ अंक रहेको छ । भोलिको खेल जिते नेपाल शिर्ष ३ मा रहदैं विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।