फ्रेन्ड्सको ए डिभिजन लिगमा पहिलो जित
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । चौथो चरणमा आएर स्पष्ट ३ अंक जोड्दा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनायो । फ्रेन्ड्सलाई जिताउन राफिक एमिनु र प्रकाश बुढाथोकीले एक एक गोल गर्दा जावलाखेलका फोडे फोफानाले सान्त्वना गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरेपछि फ्रेन्ड्स क्लबले पहिलो हाफमा २–० को अग्रता लियो ।
निर्धारित समय सकिन ३ मिनेट बाँकी रहेका बेला जावलाखेलका फोफानाले गोल फर्काउँदै अग्रता २–१ मा झारेपनि अंक लिनका लागि प्रयाप्त भएन ।
खेलको अतिरिक्त समयमा जावलाखेलका कप्तान सिमान्त थापा दोहोरो पहेँलो कार्ड (रातो कार्ड)का कारण टिम १० खेलाडीमा झरेको थियो ।
पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक बनाएको छ भने पहिलो पराजय भोगेको जावलाखेल ४ खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।