टर्कीका भूकम्पपीडितलाई एनआरएनएको सहयोग
काठमाडौं / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)ले टर्कीका भूकम्प पिडितका लागि आर्थिक सहयोग गरेको छ।
टर्कीमा गएको विनासकारी भूकम्पका पीडितका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) टर्कीले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन जनाउँदै आइसीसीले पाँच हजार डलर आर्थिक सहयोग गरेको हो।
यसअघि आइसीसी बैठकले टर्कीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । संघले १२ मार्च, २०२३, आइतबार एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई सो रकम हस्तान्तरण गरेको हो ।
यसैबीच ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर १२ मार्च, २०२३, आइतबारमा आयोजित कार्यक्रममा ४ हजार १ सय १९ डलर १९ सेन्ट आर्थिक सहयोग हस्तान्तर गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभागद्धारा आयोजित कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो ।
एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई उपसभामुख इन्दिरा रानामार्फत सो रकम हस्तान्तरण गरिएको हो । आर्थिक संकलनको लागि एनआरएनए मिडिया समितिकी सहसंयोजक बाबा राजेश्वरी थापाले विशेष पहलकदमी लिएकी थिइन।