अमेरिकामा सरकारी खाता थुप्रियो दाबी नगरेको अर्बौँको सम्पत्ति, हुन सक्छ तपाईँको पनि
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा सरकारी खातामा अनक्लेम्ड प्रोपर्टी (दाबी नगरिएको) सम्पत्ति अर्बौँ पुगेको छ ।
नेसनल एशोसिएशन अफ अनक्लेम्ड प्रोपर्टी एडमिनिष्ट्रेटर्सका अनुसार हाल अमेरिकाका विभिन्न राज्य सरकारहरूसँग ७० अर्ब डलर भन्दा माथिको दाबी नगरिएको सम्पत्ति छ ।
अनक्लेम्ड प्रोपर्टी भनेको त्यस्तो चल सम्पत्ति वा पैसा हो, जसको वास्तविक मालिक लामो समयसम्म आफ्नो सम्पत्तिको सम्पर्कमा आउँदैनन् वा त्यसको हक दाबी गर्दैनन्।
बैंक खाता लामो समयसम्म प्रयोग नगरेको, चेक नगद नगरेको, पुरानो ठेगाना भएका कारण पत्राचार नपुगेको, बीमा रकम लिन बाँकी रहेको, लगानी वा स्टकको विवरण हराएको लगायत विभिन्न कारणले व्यक्तिको सम्पत्ति ‘दाबी नगरिएको सम्पत्ति’ का रूपमा राज्य सरकारको जिम्मामा पुग्न सक्छ।
यसमा निष्क्रिय बैंक खाता, नगद नगरिएका चेक, बिर्सिएका स्टक तथा लगानी, बीमा रकम लगायत पर्न सक्छन्। केही अवस्थामा सेफ डिपोजिट बक्समा छाडिएका गहना, सिक्का, बचत पत्रलगायत भौतिक सम्पत्ति समेत राज्यको जिम्मामा पुग्न सक्छन्।
नामको हिज्जेमा सामान्य गल्ती, पुरानो ठेगाना वा बसाइँ सराइका कारण पनि सम्बन्धित व्यक्तिसम्म पैसा पुग्न नसक्ने अवस्था आउन सक्छ।
अमेरिकामा यदि कुनै बैंक खाता, सेयर, वा अन्य वित्तीय सम्पत्ति १ देखि ५ वर्षसम्म निष्क्रिय रह्यो र कम्पनीले मालिकलाई फेला पार्न सकेन भने, त्यो पैसा सरकारी कोषमा पठाउनुपर्ने कानुनी बाध्यता हुन्छ।
सरकार सँग रहेको यो व्यक्तिगत सम्पत्ति करिब ३ करोड ३० लाख मानिसको भएको अनुमान छ । यसको अर्थ प्रत्येक सात जना अमेरिकीमध्ये एक जनाले आफ्नो सम्पत्ति दाबी गरेका छैनन् ।
जवकी वास्तविक मालिकले दाबी गर्न साथ यी रकम फिर्ता पाइन्छ ।
अनक्लेम्ड प्रोपर्टी कसरी फेला पार्ने ?
अमेरिकामा एउटा पनि यस्तो राज्य छैन जहाँ अर्बौँ डलरको अनक्लेम्ड फण्ड नभएको होस्।
तपाईँ पनि तीमध्ये एक हुन सक्नु हुने छ ।
तपाइको दाबी नगरिएको रकम छ छैन भन्ने निश्चित हुनका लागि, आफ्नो राज्यको कन्ट्रोलर वा ट्रेजरी विभागमा गएर हेर्न सक्नु हुन्छ ।
अमेरिकी राज्यहरूले प्रत्येक वर्ष ४ अर्ब डलरभन्दा बढी रकम वास्तविक मालिकहरूलाई खोजेर वा दाबी प्रक्रियामार्फत सफलतापूर्वक फिर्ता गरिरहेको तथ्याङ्क छ ।
अमेरिकामा यो सम्पत्ति खोज्न र दाबी गर्न कुनै शुल्क लाग्दैन । तपाईँले आधिकारिक माध्यमहरूबाट सजिलै खोज्न सक्नुहुन्छ ।
बहु-राज्यीय आधिकारिक वेबसाइट
MissingMoney.com: यो अमेरिकाको नेसनल एशोसिएशन अफ अनक्लेम्ड प्रोपर्टी एडमिनिष्ट्रेटर्सका द्वारा प्रमाणित आधिकारिक वेबसाइट हो।
यहाँ आफ्नो नाम, थर र राज्य राखेर एकै पटक धेरै राज्यहरूमा आफ्नो नाममा पैसा छ कि छैन भनेर नि:शुल्क खोज्न सकिन्छ।
सम्बन्धित राज्यको सरकारी वेबसाइट गएर पनि तपाईँले दाबी नगरिएको रकममा तपाईँको नाम छ छैन हेर्न सक्नु हुने छ ।
पैसा फिर्ता कसरी पाउने ?
वेबसाइटमा आफ्नो नाममा सम्पत्ति फेला परेपछि त्यहीँ रहेको “Claim” बटनमा क्लिक गर्नुहोस्।
अनलाइन फारम भरेर आफ्नो पहिचान खुलाउने विवरण बुझाउनुपर्छ ।
सरकारी अधिकारीहरूले प्रमाण रुजु गरेपछि तपाईँले पैसा फिर्ता पाउनु हुने छ ।
पेन्सिलभेनियामा मात्रै ५ अर्ब डलरभन्दा बढी ‘अनक्लेम्ड प्रोपर्टी’
पेन्सिल्भेनिया राज्यमा मात्र पाँच अर्ब भन्दा धेरैको दाबी नगरिएको रकम भएको तथ्याङ्क छ ।
पेन्सिलभेनिया ट्रेजरीले सेप्टेम्बर २३, २०२६ मा आफ्नो नयाँ searchandclaimpa.gov वेबसाइट सञ्चालनमा ल्याएको छ।
ट्रेजरीका अनुसार अहिले ५ अर्ब डलरभन्दा बढीको दाबी नगरिएको रकम फिर्ता गर्न बाँकी छ। राज्यका अनुसार १० मध्ये एकभन्दा बढी पेन्सिलभेनियावासीको नाममा यस्तो सम्पत्ति हुन सक्छ ।
सायद तपाईँको नाममा पनि पैसा हुन सक्छ। एक पटक खोजेर हेर्नुहोस्, खोज्न पैसा लाग्दैन।
“यो तपाईँको पैसा हो” ।

















