नेपालमा ग्रामिण महिलाको अवस्था दयनीय : उपसभामुख
काठमाडौं / प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले ग्रामिण स्थानमा महिलाहरुको अवस्था अझै पनि दयनीय रहेको बताएकी छिन्।
एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको विशेष कार्यक्रम उभसभामुख मगरले शहरी क्षेत्रका केही महिलाहरु मुलधारमा रहेपनि,उनीहरुको जीवनमा केही परिवर्तन भएपनि ग्रामिण र विकट स्थानमा महिलाको अवस्था दयनीय रहेको बताइन।
“महिलाहरु प्रविधिको पहुँचमा त परको कुरा आधारभूत शिक्षा स्वास्थ्यसम्म पनि पाएका छैनन् ।’ उपसभामुख मगरले भनिनन्, “शहरका महिला शिक्षित भएपनि अधिकारका कुरा गरेपनि गाउँगाउँमा महिलाको अवस्थामा कुनै परिवर्तन छैन।”
नीति निर्माणको तहमा छलफल गरेर जातिय, भूगोल र समग्र रुपमा महिलाको विकास गर्नेमा आफूले पैरवी गरिरहेको उनको दावी थियो। महिलाहरु संख्यामा केन्द्रीत नभई गुणस्तर र क्षमतामा केन्द्रीत हुन उपसभामुख मगरले आग्रह गरिन।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले महिलाको लागि बनेका कानून मध्ये ५० प्रतिशत भन्दा बढीको अझै कार्यान्वयन हुन नसकेको बताइन। पछिल्लो एक दशकको अवधिमा महिला हिंसा उल्लेख्य रुपमा बढीरहेको भन्दै त्यसलाई न्यूनीकरणका लागि सरकारी पहल मात्रै पर्याप्त नभएकोले घर, समाज र व्यक्ति सचेत र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिइन।
कार्यक्रममा सहभागि वरिष्ठ पत्रकार बबिता बस्नेतले महिलाका लागि सञ्चार क्षेत्र उदार रहेपनि कतिपय सञ्चारकर्मी महिला नै हिंसामा पर्ने गरेको गुनासो गरिन।
पछिल्लो समय डिजिटल माध्यमबाट हिंसा बढीरहेको र महिलाहरु पनि त्यसको शिकार भइरहेको भन्दै महिलालाई सम्पूर्ण रुपमा शिक्षित डिजिटल संसारसँग परिचित गराउन आवश्यक रहेको उनको भनाई थियो । नीति नियम र कानून भएपनि कार्यान्वयन फितलो हुँदा समस्या बढीरहेको तर्फ उनले सचेत गराइन।
पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले महिलालाई यौनिकतासँग जोडेर कुरा गर्ने प्रवृत्ति अहिलेपनि हाबी रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन। वैदेशिक रोजगारीबाट फर्किएका महिलाको पुर्नएकीकरणको लागि जत्ति नै कुरा भएपनि त्यसको परिभाषा नै प्रष्ट नभएकोले त्यसलाई पुनः परिभाषित गर्नु जरुरी रहेको उनको भनाई थियो ।
विदेशमा जानेवित्तिकै महिलाको चरित्रहत्यासम्म हुने गरेको दुखद् पक्षलाई उजागर गर्दै उनले महिलाको लागि सम्मानजनक वातावरण र नीति नियमको तर्जुमा गर्नुपर्नेमा जोड दिइन्।
महिलालाई आर्थिक, सामाजिक रुपमा सक्षम बनाई मानसिक रुपमा पनि परिपक्क बनाउनुपर्ने, विदेशमा जानुपूर्व अभिमुखीकरण तालिम दिनुपर्ने, र स्वदेश फर्किएकालाई पनि मनोपरामर्श प्रदान गर्नुपर्ने लगायतमा उनको जोड थियो।
शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले महिलालाई हिंसा वा बेचविखनमा पर्नुबाट जोगाउन सचेतनामुलक कार्यक्रमको आवश्यकता औँल्याइन। कुनै महिलामा समस्यामा पर्नु उसको दोष नभएपनि समाजले महिलालाई नै दोषी करार गर्ने गरेको भन्दै त्यस्तो अवस्था अन्त्यका लागि सरकार, सरोकारवाला र व्यक्ति विशेषबाट पनि पहल हुनु जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा एनआरएनएकी कार्यकारी अध्यक्ष रबिना थापाले मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरण आवश्यक रहेको बताइन।
उनले स्वदेशमा मात्रै नभई विदेशमा रहेका महिलाले भोगेका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिइन।
ग्रामिण क्षेत्रमा रहेका महिला हकअधिकार र शिक्षा स्वास्थ्य लगायतका विषयलाई सुनिश्चित गर्नुपर्ने भन्दै अध्यक्ष थापाले एनआरएनले सुरु गरेको छात्रा शौचालय अभियान कार्यान्वयन भएको बताइन। उनले छोरी बचाउ र छोरी पढाऊ अभियान छिट्टै सुरु गर्ने जानकारी दिइन।
महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा रहेको तर ती अझै पर्याप्त नभएको अध्यक्ष थापाको भनाई थियो।
महिलालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र विदेशमै कामका गर्न चाहनेका लागि सम्मानजनक रोजगारीको लागि पहलकदमी लिनु जरुरी रहेकोमा थापाले जोड दिइन।
आार्थिक अवस्थामा मजबुत नभएकै कारण महिलाहरु हिंसामा पर्ने गरेको भन्र्दै महिलालाई आर्थिक रुपमा सक्षम, सबल र आत्मनिर्भर बनाउन सबै पक्षको भूमिका अहम रहेको थापाको भनाइ थियो।
एनआरएनएका अर्का अध्यक्ष बद्री केसीले जबसम्म महिलालाई शैक्षिक र आर्थिक रुपमा सबल बनाउन सकिँदैन तबसम्म महिला र पुरुषबीच समानता वा समता कायम गर्न नसकिने बताए।
संघकी महिला उपाध्यक्ष विष्णुमाया परियारले अन्तर्राष्ट्रिय महिला दिवस नै महिलाहरुको लागि उत्सव भएकोले सबै मिलेर उत्सव मनाउन पाउँदा खुशी लागेको बताइन।
आइसीसी महिला संयोजक संगिता मरहट्ठाले सञ्चालन गरेको कार्यक्रममा महिला सचिव टीका गुरुङले स्वागतमन्तव्य दिएकी थिइन। महिला उपाध्यक्ष यास्मिन बेगम सैयदले सभापतित्वमा भएको भर्चुअल कार्यक्रममा एक सय भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।