एडिलेडमा नेपाल महोत्सव हुँदै
अष्ट्रेलिया । अष्ट्रेलियाको एडिलेड शहरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल महोत्सव आयोजना गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा १८ मार्चमा हुने महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० बटा स्टल हुनेछन् ।
जसमा १० वटा ठूला स्टल हुने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले जानकारी दिइन् ।
महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने बुझिएको छ ।
महोत्सवमा मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ । जसमा नेपालका परम्परागत ढिकी जातो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरि धरहरा, पशुपति, स्वयंम्बु समेत राखिने छ ।