सिग्नेचर र सिलिकन भ्याली बैंकबारे बाइडेनको धारणा यस्तो
अमेरिका । अमेरिकाको सिग्नेचर बैंक र सिलिकन भ्याली बैंक डुबेको खबर अहिले विश्वभरका सञ्चारमाध्यमहरुमा हेडलाइन नै बनेका छन् ।
पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीको असर देखिएको भन्दै धेरैको ध्यान यो खबरले आकर्षण गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार ट्विट गर्दै बैंकहरू ध्वस्त पार्ने जिम्मेवार व्यक्तिहरूलाई कडा कारबाही गरिने बताएका छन् ।
बाइडेनले दुवै बैंकका खातावालाको पैसा सुरक्षित रहेको पनि प्रष्ट पारेका छन् ।
जो बाइडेनले ट्वीट गर्दै भनेका छन्, ‘यो गडबडीको लागि जिम्मेवार जोसुकै विरुद्ध कडा कारबाही गरिनेछ । यसका साथै ठूला बैंकहरुको अनुगमन र नियमनलाई पनि थप मजबुत बनाइने छ जसले गर्दा फेरि यस्तो अवस्थाको सामना गर्नु नपरोस् ।’
अमेरिकी राष्ट्रपतिले अर्को ट्विटमा लेखेका छन्, ‘हामी अमेरिकी जनता र अमेरिकी व्यापार जगतलाई उनीहरुको बैंक निक्षेप सुरक्षित रहेको र उनीहरुलाई आवश्यक परेको बेला फिर्ता लिन सक्ने सुनिश्चित गर्न चाहन्छौँ ।’
अमेरिकाका वित्तीय संस्था र अर्थ विभागले पनि संयुक्त विज्ञप्ति जारी गर्दै जनताले बैंकमा राखेको पैसा सुरक्षित रहेको भन्दै त्यसलाई फिर्ता लिन सकिने बताएको छ । अमेरिकाको फेडरल रिजर्भ विभागले बैंकहरूलाई मद्दत गर्न थप कोष गर्ने घोषणा गरेको छ, ताकि मानिसहरूले कुनै पनि प्रकारको समस्याको सामना गर्नु नपरोस् । देशको बैंकिङ प्रणालीमा जनताको विश्वास कायम राख्न र अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउन यी कदमहरू चालिएको हो ।
उल्लेखनीय कुरा के छ भने अमेरिकी अर्थमन्त्री जेनेट येलेनले हालै एक विज्ञप्तिमा सिलिकन भ्याली बैंकलाई संकटबाट बाहिर निकाल्न अमेरिकी सरकारले कुनै पनि प्याकेज घोषणा नगर्ने बताएकी थिइन् । सरकारले बैंकका खातावालाको पैसा फिर्ता गराउन मात्रै सहयोग गरिरहेको छ ।