माओवादी र नाउपा दाहिना हुँदा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दुई तिहाई समर्थन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
पुस १० गतेको सहमति अनुसार एमालेका राजेन्द्र सिंह रावल पहिला मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री बनाउँदा सहमति गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावलको सरकार ढलेको थियो ।
त्यसपछि संविधानको धारा १६८ अनुसार ठूलो दलको हैसियतमा शाह मुख्यमन्त्री भएका थिए । उनी मुख्यमन्त्री हुँदासम्म सहजै विश्वासको मत पाउने अवस्था थिएन ।
तर, केन्द्रमा भएको सत्ता समिकरणको परिवर्तनपछि शाहले मुख्यमन्त्री पदमा विश्वासको मत पाएका छन् ।
शनिबारसम्म माओवादीले शाहलाई विश्वासको मत नदिने बताएको थियो ।
तर, आइतबार विहानै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टराई अहिलेको अवस्थामा गठबन्धन टुट्नुहुँदैन भनेर ठाडो निर्देशन दिएपछि माओवादी पनि बाध्य भएर शाहको पक्षमा उभिएको थियो ।
फलस्वरुप आइतबार भएको प्रदेश सभामा शाहको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ ।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए । योसँगै ५३ सदस्यीय प्रदेशसभामा शाहले दुई तिहाइ भन्दा बढि समर्थन पाएका छन् ।
शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जोशीले विश्वासको मत दिएका हुन् ।