दक्षिण कोरियामा नेपाल एयरलाइन्सको सिधा उडान हुने
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ ।
दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको र प्रक्रिया पनि अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो ।
राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमले विश्वास गरेको छ ।
निगमले अहिले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।