ग्रीसमा रेल एकआपसमा ठोक्किँदा २९ जनाको मृत्यु, ८५ जना घाइते
ग्रीस / ग्रीसको लारिसा शहर नजिकै टेम्पीमा मंगलवार भएको रेल दुर्घटनामा परि कम्तिमा २९ जनाको निधन भएको छ। दुर्घटनामा परि ८५ जना घाइते भएका छन्।
ग्रीक रेलवे कम्पनी, हेलेनिक ट्रेनले जारी गरेको प्रेस विज्ञप्तिमा दुईवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको उल्लेख छ।
उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीमा रहेको जनाइएको छ। घटना स्थलमा ४० एम्बुलेन्स सहित कम्तिमा एक सय ५० दमकल उद्धार कार्यमा संलग्न छन्।
ग्रीसको फायर सर्भिसका अनुसार तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँएको हो।
दुर्घटना स्थलमा भयानक आवाज आएको थियो। उद्धारको प्रयास जारी छ र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ, ग्रीक फायर सर्भिसले भनेको छ।
रेलहरू राजधानी एथेन्सबाट ग्रीसको सहर थेस्सालोनिकी जाँदै थिए, जुन चाडपर्व र जीवन्त सांस्कृतिक जीवनका लागि प्रख्यात छ।
फोटो : सामाजिक सञ्जाल