जो बाइडनले निर्यात परिषद्मा गरे नियुक्ति, २ जना भारतीय समावेश

अमेरिका / अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार राष्ट्रपतिको निर्यात परिषदमा २५ जनालाई नियुक्त गरेका छन् ।
ह्वाइट हाउसले दिएको जानकारी अनुसार उक्त सूचीमा दुई जना भारतीय–अमेरिकीको नाम समावेश गरिएको छ । जसमा पुनीत रञ्जन र राजेश सुब्रमण्यम रहेका छन् । उनीहरू निर्यात परिषद्को सदस्य हुनेछन् । काउन्सिलको अध्यक्षमा मार्क डी ईन र उपाध्यक्षमा रोजालिन्ड ब्रेवरलाई नियुक्त गरिएको छ । परिषद्मा अध्यक्ष र उपाध्यक्षसहित २३ जना सदस्य बनाइएको छ ।
राष्ट्रपतिको निर्यात परिषद् अन्तर्राष्ट्रिय व्यापारको लागि प्रमुख राष्ट्रिय सल्लाहकार निकायको रूपमा काम गर्दछ । काउन्सिलले अमेरिकी व्यापार कार्यसम्पादनलाई असर गर्ने सरकारी नीति र कार्यक्रमहरूमा राष्ट्रपतिलाई सल्लाह दिन्छ । यसले निर्यात विस्तारलाई बढावा दिन्छ र व्यापार, औद्योगिक, कृषि, श्रम र सरकारी क्षेत्रहरू बीच व्यापार सम्बन्धी समस्याहरू छलफल र समाधान गर्नका लागि एक मञ्च प्रदान गर्दछ ।
पुनीत रञ्जन को हुन् ?
पुनीत रञ्जन एक शीर्ष भारतीय–अमेरिकी व्यापारी हुन् र उनी गत वर्ष डेलोइट ग्लोबलको सीईओको रूपमा सेवानिवृत्त भएका थिए । पुनीत जुन २०१५ देखि डेलोइट ग्लोबलको सीईओको रूपमा सेवा गर्दै आएका थिए । रञ्जनलाई उनको नेतृत्व, व्यवसायिक कौशलता र सामाजिक प्रभावप्रति प्रतिबद्धताका लागि धेरै संस्थाहरूले मान्यता दिएका छन् ।
सीईओको रूपमा आफ्नो कार्यकालमा, रञ्जनले विश्वव्यापी रणनीतिको विकास र कार्यान्वयन गरे जसले गर्दा डेलोइट विश्वको अग्रणी व्यावसायिक सेवा संस्था बन्न पुग्यो र सबैभन्दा बलियो र सबैभन्दा मूल्यवान व्यावसायिक सेवा ब्रान्डहरू मध्ये एकको रूपमा मान्यता प्राप्त भयो। रञ्जनलाई २०२२ मा इकोनोमिक टाइम्सले ‘ग्लोबल इन्डियन अफ द इयर’ को रूपमा सम्मान दिएको थियो । र उनी अमेरिकाको कार्नेगी कर्पोरेशनका ३४ महान प्रवासी मध्ये एक हुन् । २०२१ मा, अमेरिका–भारत रणनीतिक साझेदारी फोरमले रञ्जनलाई ग्लोबल अचीभमेन्ट अवार्डले सम्मान गरेको थियो । २०२० मा, उनलाई ओरेगन हिस्ट्री मेकर्स मेडल प्रदान गरिएको थियो ।
सुब्रमण्यम को हुन् ?
बाइडेनको सूचीमा अर्का भारतीय–अमेरिकी राजेश सुब्रमण्यम पनि छन् । सुब्रमण्यम विश्वको सबैभन्दा ठूलो यातायात कम्पनीहरू मध्ये एक फेडएक्स कर्पोरेशनका अध्यक्ष, सीईओ र बोर्ड अफ डाइरेक्टर्सका सदस्य हुन् । सुब्रमण्यम, फेडएक्स निगमको अध्यक्ष र सिईओको रूपमा, फेडएक्स सञ्चालन गर्ने सबै कम्पनीहरूका रणनीतिक योजनाकार मानिन्छन् ।
सुब्रमण्यमले २०२३ मा प्रवासी भारतीय सम्मान पुरस्कार प्राप्त गरेका छन् । यो पुरस्कार भारत र विदेशमा उत्कृष्ट उपलब्धि हात पार्ने भारतीय प्रवासीहरूलाई भारतका राष्ट्रपतिद्वारा प्रदान गरिने सर्वोच्च नागरिक सम्मान हो ।