ग्याल्बो ल्होसार : विविध कार्यक्रम गरी मनाइयो
काठमाडौं । शेर्पा समुदायको नयाँ बर्ष तथा सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्बो ल्होसार आज विभिन्न कार्यक्रम गरि मनाएका हुन् ।
ल्होसारको अवसरमा देशभरका विभिन्न बौद्ध स्तूप गुम्बामा शेर्पा समुदायले पूजा पाठ गर्नुका साथै घर सरसफाई तथा सिंगार पटार गरेर मनाएका छन् ।
आज ल्होसारको अवसरमा घर तथा गुम्बा स्तूपमा सरसफाई तथा पुजा आजा गरिएको नेपाल शेर्पा संघका सचिव लाक्पा शेर्पाले जानकारी दिए ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइन्छ । उनले ग्याल्बो ल्होसारको तेस्रो दिनपछि भने बाह्य रुपमा विभिन्न कार्यक्रम हुने जानकारी दिए । उनले भने ल्होसारको भोली पल्ट खासै घर बाहिर ननिस्कने चलन छ ।
ग्याल्बो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको मान्यता छ । ग्याल्बो ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।