त्रिविद्वारा स्ववियु निर्वाचन तालिका सार्वजनिक : बिहान ८ बजेदेखि मतदान सुरु हुने
काठमाडौं / त्रिभुवन विश्वविद्यालयले, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि फागुन २७ देखि निर्वाचन प्रकृया सुरु गर्नेगरि स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने र चैत ५ गते निर्वाचन गर्ने गरि कार्यतालिका तयार गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध, फागुन २६ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।
मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । यस्तै फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको उनले जानकारी दिए ।
स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको निर्देशनालयका निर्देशक अधिकारीले बताए ।
त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।
माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको निर्वाचनका लागि त्रिविले स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने तयारी गरेको छ।
त्रिविमा देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८÷१९ देखि २०३० सम्म प्रत्येक वर्ष प्रत्यक्ष प्रणालीमा स्ववियु निर्वाचन हुँदै आएपनि विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो ।
प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।
विसं २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा र २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा भएको स्ववियु निर्वाचन विसं उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा मात्रै सम्पन्न भएको थियो ।