पेन्सिल्भेनियामा मतदान अधिकारबारे अक्टोबर १५ मा भर्चुअल विशेष प्रशिक्षण
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नोभेम्बर ३ तारिख हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै आप्रवासी तथा एसियाली समुदायलाई मतदान अधिकारबारे जानकारी दिने विशेष प्रशिक्षण आयोजना हुने भएको छ।
एसियन ल ककस (एएलसी), एसियन रिफ्युजीज युनाइटेड (एआरयू), अधिकार, ओपल–बिल्डिङ एएपीआई फेमिनिस्ट लिडरसिप र भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग (बीक्याप) को सहकार्यमा ‘नो योर भोटिङ राइट्स ट्रेनिङ’ अक्टोबर १५ बिहीबार साँझ ७ बजे पूर्वी समय र ६ बजे केन्द्रीय समयमा जुममार्फत आयोजना हुन लागेको हो।
प्रशिक्षणमा देशभरका मतदान अधिकारसम्बन्धी विज्ञ तथा संस्थाका प्रतिनिधिहरूले मतदान केन्द्रमा हुन सक्ने विभिन्न परिस्थितिबारे जानकारी दिनेछन्। सहभागीलाई निर्वाचनको दिनका लागि कसरी तयारी गर्ने भन्ने विषयमा समेत जानकारी दिइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार आप्रवासी समुदायलाई लक्षित धम्की तथा अन्य गतिविधिका कारण मतदानमा असर पर्न सक्ने अवस्थाबारे पनि प्रशिक्षणमा छलफल हुनेछ। त्यस्ता अवस्थाको सामना गर्दै समुदायले आफ्नो मतदान अधिकार कसरी सुरक्षित गर्न सक्छ भन्ने विषयमा जानकारी दिइनेछ।
प्रशिक्षणमा जुममार्फत नेपाली भाषामा प्रत्यक्ष दोभाषे सेवा उपलब्ध हुनेछ।
कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत अग्रिम दर्ता गर्न आग्रह गरिएको छ।

















