बाल्टिमोरमा नेपालीको सुन पसलमा ग्राहकको भेषमा आएका दुई व्यक्तिले दिउसै बन्दुक देखाएर लुटपाट, स्टोर नै खाली
बाल्टिमोर, मेरिल्याण्ड / मेरिल्याण्डको बाल्टिमोरमा नेपाली सञ्चालक रहेको गोर्खा ज्वेलर्समा दिउसै बन्दुक देखाएर लुटपाट भएको छ।
ग्राहकको भेषमा आएका दुई जनाले पसलभित्र प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिएर सुन तथा अन्य सामग्री लुटेर लगेको सञ्चालक सागर विश्वकर्माले समाज टाइम्सलाई बताए ।
सागरका अनुसार अक्टोबर ६ तारिख मंगलवार दिउँसो करिब २ः५५ देखि ३ : १५ बजेको बीचमा दुई जना व्यक्ति बेलुन, केक र फूल बोकेर जन्मदिनको कार्यक्रममा जान लागेको जस्तो देखिने गरी पसलमा आएका थिए।
पसलको ढोका खोलेपछि उनीहरूमध्ये एक जनाले बन्दुक निकालेर पसलमा रहेका दुई जनालाई नियन्त्रणमा लिएका थिए।
उनीहरूलाई पसलभित्रको स्टोर रुममा लगेर हात बाँधिएको र एक जना आफन्तलाई बन्दुकको प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको सागरले बताए। घाइतेको अस्पतालमा उपचार गरिएको र पछि घर फर्काइएको उनले जानकारी दिए।
लुटपाटका क्रममा पसलमा रहेको सुन तथा अन्य सामग्री ठूलो मात्रामा लगिएको भए पनि क्षतिको यकिन विवरण भने अझै तयार भइनसकेको उनले बताए। उनका अनुसार करिब ६० देखि ७० प्रतिशतसम्म सामानको विवरण तयार भइसकेको छ भने बाँकी सामग्रीको पनि सूची बनाउने काम भइरहेको छ।
घटनाका बेला सागर र उनकी श्रीमती प्रीति सेन्चुरी विश्वकर्मा न्यूयोर्कबाट फर्किँदै थिए।
‘पसलमा श्रीमतीको भाई सौरभ बिके, मेरो भाई (काकाको छोरा) अन्जान विश्वकर्मा रहेका बेला लुटपाट भएको हो। अन्जानको टाउकोमा टाका नै लागाउनु पर्यो।’ सागरले भने,’ रगत नै बगेको रहेछ आठ घण्टा अस्पतातको आकस्मिक कक्षामा उपचार पछि घरमा आराम गरेका छन् ।’
सागरका अनुसार प्रहरीले घटनामा संलग्न भएको आशंका गरिएका तीन जनाको गतिविधिबारे प्रारम्भिक जानकारी प्राप्त गरेको जनाएको छ।
नजिकैको अमेरिकन स्टेक हाउसको सुरक्षा क्यामेरामा दुई जना सन्दिग्धको तस्बिर कैद भएको र अर्का एक व्यक्ति गाडीमै बसेको हुनसक्ने जानकारी प्रहरीले दिएको उनले बताए।
घटनापछि लुटेराहरूले पसलको सुरक्षा क्यामेरा प्रणालीसमेत नियन्त्रणमा लिएर लगेकाले सागरले बताए ।
‘शुरुमा पसलमा तीन जना थिए, बहिनी ग्रिटा विश्वकर्मा लन्चको लागि घर जानासाथ यो साथ यो घटना भएछ ।’ सागरले भने, ‘बहिनी निस्कने बित्तिकै ती लुटेरा पसलमा छिरेको देखिन्छ ।’
पसलमा प्रहरीको फरेन्सिक तथा अनुसन्धान टोलीले फिंगरप्रिन्टलगायत प्रमाण संकलन गरेको पनि उनले जानकारी दिए । अनुसन्धान जारी रहेकाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउबारे प्रहरीले औपचारिक रूपमा थप जानकारी सार्वजनिक गर्न बाँकी छ।
३६१५ इस्ट झोपा रोड, बाल्टिमोरमा रहेको गोर्खा ज्वेलर्स सञ्चालनमा आएको दुई वर्ष मात्रै भएको सागरले बताए। उनका अनुसार यो बाल्टिमोर क्षेत्रमा नेपाली समुदायले सञ्चालन गरेको पहिलो सुन पसल हो।
‘नेपालमा मेरो घर पर्वत हो, श्रीमतीको माइत वुटवल हो, त्यहाँ मेरो ससुरालीको लामो समय देखि सुन व्यवसाय छ।’ उनले भने ।
सागरले घटनालाई केवल आफ्नो व्यवसायमा भएको क्षतिका रूपमा नभई नेपाली समुदायका व्यवसायीलाई समेत सचेत गराउने घटनाका रूपमा लिन आग्रह गरेका छन्।
‘मेरो व्यवसाय लुटियो, यो कुरा बाहिर जानु पर्छ हाम्रो अरु व्यवसायीहरु सतर्क हुनु पर्छ ।’ सागरले भने ।
अपरिचित व्यक्ति ग्राहकका रूपमा आउँदा, विशेषगरी मूल्यवान् सामान राखिएका व्यवसायमा सुरक्षा व्यवस्था र सतर्कतामा विशेष ध्यान दिन उनले समुदायलाई आग्रह गरेका छन्।
घटनाबारे बाल्टिमोर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

















