राष्ट्रपति ट्रम्पद्वारा विज्ञान तथा प्रविधिका ६ अग्रणीलाई अमेरिकाको सर्वोच्च पदक
वासिङ्टन / राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञान तथा प्रविधिको क्षेत्रमा असाधारण योगदान पुर्याएका छ जना अग्रणीलाई अमेरिकाका सर्वोच्च सम्मान प्रदान गरेका छन्।
ह्वाइट हाउसका अनुसार ‘साइन्स : अ न्यू गोल्डेन एज’ शिखर सम्मेलनका क्रममा बिहीबार ट्रम्पले चार जनालाई ‘नेसनल मेडल अफ साइन्स’ र दुई जनालाई ‘नेसनल मेडल अफ टेक्नोलोजी एन्ड इनोभेसन’ प्रदान गरेका हुन्।
विज्ञानतर्फको पदक पाउनेमा एलन मस्क, सर्गेई ब्रिन, जेन्सेन हुआङ र लिसा सु छन्। त्यस्तै, प्रविधि तथा नवप्रवर्तनतर्फ माइकल डेल र सत्य नाडेलालाई सम्मान गरिएको छ।
ह्वाइट हाउसका अनुसार यी सम्मान विज्ञान, इन्जिनियरिङ, कम्प्युटिङ र प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छन्।
सन् १९६३ देखि राष्ट्रपतिले प्रदान गर्दै आएको ‘नेसनल मेडल अफ साइन्स’ विज्ञानमा उत्कृष्ट योगदानको कदर गर्ने अमेरिकाको सर्वोच्च सम्मानमध्ये एक हो। ‘नेसनल मेडल अफ टेक्नोलोजी एन्ड इनोभेसन’ सन् १९८५ देखि प्रदान गर्न थालिएको हो।
विज्ञानतर्फ चार जना सम्मानित
स्पेसएक्स, टेस्ला र अन्य प्रविधि उद्यमसँग जोडिएका एलन मस्कलाई अन्तरिक्ष अन्वेषण, बौद्धिक प्रणाली, सञ्चार प्रविधि र अमेरिकी उत्पादन क्षेत्रको विकासमा पुर्याएको योगदानका लागि सम्मान गरिएको ह्वाइट हाउसले जनाएको छ।
गुगलका सहसंस्थापक सर्गेई ब्रिनलाई सूचना खोजी तथा तथ्याङ्क प्रशोधनका आधारभूत एल्गोरिदम विकासमा गरेको योगदानका लागि पदक प्रदान गरिएको हो। उनको कामले विज्ञान, व्यापार र दैनिक जीवनमा सूचना प्राप्त गर्ने तरिकालाई रूपान्तरण गरेको ह्वाइट हाउसको भनाइ छ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) लाई व्यापक प्रयोजनको कम्प्युटिङ प्रविधिका रूपमा विकास गर्न तथा समानान्तर गणनाको क्षमता विस्तार गर्न पुर्याएको योगदानका लागि सम्मान गरिएको छ। उनको नेतृत्वमा विकसित प्रविधिले वैज्ञानिक गणना र उन्नत कृत्रिम बुद्धिमत्ताको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ।
एएमडीकी प्रमुख कार्यकारी अधिकृत लिसा सुले सेमिकन्डक्टर इन्जिनियरिङ, उच्च क्षमताको कम्प्युटिङ र प्रोसेसर संरचनाको विकासमा पुर्याएको योगदानका लागि सम्मान पाएकी छन्। उनको नेतृत्वमा भएका नवप्रवर्तनले विश्वकै पहिलो एक्सास्केल सुपरकम्प्युटर सञ्चालन गर्न आवश्यक प्रविधिको विकासमा योगदान पुर्याएको ह्वाइट हाउसले उल्लेख गरेको छ।
प्रविधि तथा नवप्रवर्तनतर्फ डेल र नाडेला
डेल टेक्नोलोजिजका संस्थापक माइकल डेललाई व्यक्तिगत तथा व्यावसायिक कम्प्युटिङको व्यापक प्रयोग विस्तार गर्न, विश्वव्यापी प्रविधि कम्पनी निर्माण गर्न र नयाँ पुस्ताका अमेरिकी वैज्ञानिक तथा इन्जिनियरलाई सहयोग पुर्याउन गरेको योगदानका लागि सम्मान गरिएको हो।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलालाई कम्पनीलाई क्लाउड कम्प्युटिङको नयाँ युगमा रूपान्तरण गर्न तथा अत्यधिक क्षमताका कम्प्युटिङ पूर्वाधार निर्माणमा नेतृत्व गरेको योगदानका लागि पदक प्रदान गरिएको ह्वाइट हाउसले जनाएको छ। ती पूर्वाधारले अमेरिकी कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रशिक्षण र विश्वव्यापी प्रयोग विस्तार गर्न सहयोग पुर्याएको जनाइएको छ।
ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीति कार्यालयका निर्देशक माइकल क्राट्सियोसले सम्मानित व्यक्तिहरूले आ–आफ्नो क्षेत्र र उद्योगलाई रूपान्तरण गर्दै भविष्यका प्रविधिको आधार निर्माण गरेको बताएका छन्। वैज्ञानिक प्रगति र प्रविधिको नवप्रवर्तनमा व्यक्तिको दूरदृष्टि, क्षमता र नेतृत्वको महत्त्व रहेको उनको भनाइ छ।
अमेरिकी विज्ञान तथा प्रविधिमा नयाँ स्वर्णयुगको लक्ष्य
ह्वाइट हाउसका अनुसार ट्रम्प प्रशासनले कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट वैज्ञानिक खोजलाई तीव्र बनाउने, आणविक ऊर्जाको विकासलाई पुनर्जीवित गर्ने, अन्तरिक्ष क्षेत्रमा अमेरिकी अग्रता कायम राख्ने र क्वान्टम प्रविधिमा अमेरिकाको क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ।
जुलाई २०२६ मा सार्वजनिक गरिएको ‘साइन्स : अ न्यू गोल्डेन एज’ प्रतिवेदनले विज्ञान तथा प्रविधि अनुसन्धानमा सरकार, निजी क्षेत्र, विश्वविद्यालय र परोपकारी संस्थाबीच सहकार्य विस्तार गर्नुपर्ने सुझाव दिएको छ।
प्रारम्भिक करियरका वैज्ञानिकलाई सहयोग, महत्त्वाकाङ्क्षी वैज्ञानिक परियोजनाको पुनरुत्थान, अनुसन्धानका लागि नयाँ आर्थिक तथा संस्थागत ढाँचा निर्माण र कृत्रिम बुद्धिमत्तामा आधारित वैज्ञानिक खोजको विस्तारलाई प्रतिवेदनले प्राथमिकतामा राखेको छ।
बिहीबारको शिखर सम्मेलनले अमेरिकी विज्ञान तथा प्रविधिको आगामी दिशा निर्धारण गर्न वैज्ञानिक र नवप्रवर्तकहरूलाई एकै ठाउँमा ल्याएको ह्वाइट हाउसले जनाएको छ।

















