लुटपाट र तोडफोडबाट ८ करोड भन्दा बढि क्षति भयो : उपाध्यक्ष चालिसे
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले, यातायात मजदुरको प्रर्दशनका क्रममा बालाजुस्थित ह्लोत्से मलमा भएको लुटपाटको क्षतिपूर्तिको माग गरेको छ।
मंगलबार काठमाडौंको ल्होत्से मलमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको हो।
महासंघका उपाध्यक्ष तथा ल्होत्से मलका व्यवसायी अर्जुन चालिसेले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडबाट ८ करोड भन्दा बढि क्षति भएको दाबी गरे । उनले भने ‘लुटपाट र तोडफोडबाट ८ करोड रुपैयाँ भन्दा बराबरको क्षति भएको छ । भौतीक संरचना पनि धोस्त भएको छ । आफ्नो भन्दा पनि ग्राहकहरुको सामान क्षेती भएको छ ।’
सोमबारको घटनाले नेपालमा निर्धक्क भएर व्यवसाय गर्ने वातावरण नभएको नेपाल मोबाइल व्यवसायी महासंघका उपसचिव रमेश घिमिरेलेको भनाई छ । यो घटनाले नेपालको सुरक्षा कति फितलो छ भन्ने प्रष्ट भएको भन्दै उनले भने ‘सोमबारको घटनाले नेपालमा निर्धक्क भएर व्यवसाय गर्ने वातावरण छैन् । हाम्रो सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुन्छ । यसको सम्पूर्ण क्षतिपूर्ति हामीलाई राज्यले दिनुपर्छ ।’
यातायात मजदुरहरुले ट्राफिक प्रहरीले लिने जरिवाना लगायतको विरोध गर्दै सोमबार दिउँसो काठमाडौंको बालाजु माछापोखरी र गोंगबु नयाँ बसपार्क अगाडि विरोध प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शन अनियन्त्रित हुँदा प्रहरी भ्यान र प्रहरी बिटमा आगजनी भएको थियो । मानिसहरुको भिडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेका थिए ।